काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताउनुभएको छ। सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र गठबन्धनमा रहेका दलहरुका लागि निर्वाचन सन्तोषजनक रहेको बताउनुभएको हो ।
उहाँले तालमेल गरेर प्रतिष्पर्धा गरेका ठाउँमा गठबन्धनका दलहरुले ठूलो सफलता हात पारेको दाबी गर्नुभयो । उहाँले स्थानीय तह निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको पनि बताउनुभयो ।
उहाँले नेकपा एमालेले निर्वाचनमा धाँधली भयो भन्ने कुरामा कुनै सत्यता नरहेकोसमेत जिकिर गर्नुभयो । प्रवक्ता महतले नेकपा एमालेकै केन्द्रीय नेताको नेतृत्वमा बाजुराको बुढीगंगा नगरपालिकामा व्यापक धाँदली भएको दाबी गर्नुभयो ।
उहाँले धाँधली भएका २,३,५ र ९ वडामा एमालेले पूरै बुथ कब्जा गरेकाले उक्त वडामा पुनः मतदान गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । उहाँले उदयपुरको त्रियुगा नगरपालिकाको एउटा वडामा पनि धाँधली भएकाले तत्काल पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गर्नुभयो । प्रवक्ता महतले स्थानीय तह सदस्य निर्वाचनमा समग्रमा गठबन्धन दलसहितको निकै ठूलो अग्रता कायम गर्न सफल भएको स्पष्ट पार्नुभयो ।
प्रवक्ता महतले काठमाडौंमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेको ५ वर्षमा गरेको कामहरुको कर्तुत भएको जिकिर गर्नुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली काँग्रेससमेत परेको बताउनुभयो । केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली काँग्रेस र राजनीतिक दलहरु नै सकिएको भन्ने मूल्यांकन गर्न नमिल्ने बताउनुभयो । उहाँले काठमाडौंमा राजनीतिक दलहरु स्वतन्त्र उम्मेदवारसामु निरिह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको बताउनुभयो ।
प्रवक्ता महतले अन्तर्राष्ट्रिय स्तरमै अहिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकोले नेपालमा पनि स्वभाविक रुपमा मूल्यवृद्धि भएको बताउनुभयो । उहाँले सरकारले जनस्तरलाई मध्यनजर गरेर अझै अन्तर्राष्ट्रिय स्तरमा भएको मूल्यवृद्धिको पूर्ण रुपमा नेपालमा मूल्य नबढाएको दाबी गर्नुभयो । उहाँले जनता मारमा परिरहेकोले सरकार यसमा गम्भीर बन्न र उपभोक्ताहरुको आवश्यकीय सामग्रीहरुको मूल्यवृद्धिमा सरकार गम्भीर र चनाखो बन्नुपर्ने बताउनुभयो ।