देश निर्वाचनमय बनेको छ । ९८ प्रतिशतभन्दा बढी पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचनमा आएको परिणामलाई सबै पार्टीले समीक्षा गरिरहेका छन् । यतिखेर वैकल्पिक भनिने दलहरुले भनेजस्तो नतिजा ल्याउन नै सकेनन् । बरु अलिअलि भएको जनमत पनि घटेको निर्वाचन परिणामले देखाएको छ । विवेकशील साझा लगायतका नयाँ र आफूहरुलाई बलियो वैकल्पिक शक्ति भन्नेहरुको हैसियत निर्वाचनको मतपरिणामले प्रमाणित गरिदिएको छ ।
नेकपा एमाले २०७४ मा भन्दा कमजोर बनेको छ । एमाले समग्र पालिका प्रमुखको नेतृत्वमा कमजोर बनेको हो । नेपाली कांग्रेस पहिलो भएर हौसिएको छ । यता माओवादी केन्द्र पनि निर्वाचनको नतिजाप्रति समग्र चित्तबुझ्दो नै भएको भनिरहेको छ । उता एकीकृत समाजवादी भने नतिजाप्रति उति सन्तुष्ट छैन । नेतृत्व परिवर्तन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने अपेक्षाकृत नतिजा हासिल गरेको भनिरहेको छ । राजधानी काठमाडौंको एक नगरपालिकामा समेत राप्रपा विजयी बन्यो । पार्टीका प्रभावशाली नेता कमल थापाले पार्टी छाडेर गएपछि पार्टी बलियो भएको राप्रपाका नेताहरुले बताउने गरेका छन् ।
राजेन्द्रको उदय हुँदा थापाको विलय
कमल थापा प्रवृत्ति नेपाली राजनीतिको घातक सोंच र चिन्तन हो । नेतृत्वमा सधैं आफैं हुनुपर्छ भन्ने प्रवृत्तिका राजनीतिज्ञले नेपाली राजनीतिलाई दुषित र प्रदुषणयुक्त बनाएका छन् । कमल थापा एक उदाहरण हुन्, जसले नेतृत्व परिवर्तनलाई विभिन्न बहानामा स्वीकार गरेनन् । उनले अध्यक्षको पद आर्यघाटसम्म लैजाने प्रपञ्ज गरेको देखियो ।
अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएसँगै थापाको छटपटी सुरु भयो । उनले राजाको आशिर्वाद आफूलाई अध्यक्ष बन्न छ भन्नेसम्मको अभिव्यक्ति दिए तर अन्तिममा उनै पूर्वराजालाई तथानाम गाली गरेर पार्टी छाडे । उनले आफ्नो राजनीतिलाई तीलान्जली आफैं दिए । विचार नै नमिल्ने एमालेसँग थापाको राप्रपा नेपालले स्थानीय निर्वाचनमा सहकार्य गर्यो । तर राप्रपा नेपालका प्रतिनिधि कतै उठेको पाइएन । थापाले एमालेसँग सहकार्य गरेर संघीय निर्वाचनमा आफू निर्वाचित हुने उपायकोमात्र खोजी गरेको पाइयो । भलै उनको अध्यक्ष बन्ने सपना भने पुरा भएको छ । तर, उनको कारण राप्रपा कमजोर बनेको रहेछ भनेर प्रमाणित हुँदै गएको छ । उनले संघीय चुनावमा राप्रपालाई राष्ट्रिय पार्टीसमेत बनाउन नसकेको आरोप लाग्ने गरेको छ । उनले स्वार्थभन्दा बाहेकको राजनीति नगरेको प्रष्ट हुँदै गएको छ । थापाको रुप उदांगो भएपछि नांगिदै गएका छन् ।
यता राजेन्द्रलाई भने थापाले समेत पार्टी छाडेर गएपछि चुनौती थपियो । उनले जसरी पनि राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनु थियो । उनले पार्टी नेतृत्व गरेको ६ महिनामा नै त्यसको सकारात्मक प्रभाव देखिएको छ । उनले भने जस्तो सफलता हात नपरे पनि छोटो समयमा पाएको जनमतले राहत भने पक्कै मिलेको छ । राप्रपाका संस्थापक भनेर आफूलाई चिनाउने थापालाई राजेन्द्रको उदय भारी परेको छ । उनले राप्रपा सकिने पूर्वानुमान गरेर राप्रपासँगको सम्बन्ध बिच्छेद गरेका थिए । तर राप्रपाको नतिजाले उनको घाउमा नुन खुर्सानी छर्किए जतिकै भएको छ । यता उनको आफ्नो पार्टीको अस्तित्व भने धरापमा छ । उता आफूले छाडेको पार्टीले सोचेभन्दा राम्रो नतिजा ल्याएपछि थापा सशंकित बनेका हुन् ।
अब संघीय चुनाव राप्रपाका लागि महत्त्वपूर्ण
एक मात्र सिट जितेको राप्रपा संघीय संसद्मा अहिले स्वतन्त्र भूमिकामा छ । अर्थात् राप्रपाको संसदभित्रको भूमिका र हैसियत स्वतन्त्र उम्मेद्वारले प्रतिनिधिसभा सदस्य जितेर आए जतिमात्र हो । संघीय संसदभित्र नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी अस्तित्वमा छन् । उनीहरुले निर्वाचन आयोगले भनेको थ्रेस होल्ड कटाए र आफ्नो पार्टीको अस्तित्व बचाए । लोसपा र नेकपा एकीकृत समाजवादी भने फुटेर अस्तित्वमा आएका पार्टी हुन् । लोसपालाई राजपा भनेर पनि चित्रण गर्न सकिन्छ । जो सुुरुमा जोडिएर जसपा बन्यो अनि फुटेर लोसपा भयो ।
राप्रपाका अध्यक्ष तथा संघीय सांसद राजेन्द्र लिङ्देन भने संसदभित्र स्वतन्त्र भूमिकामा छन् । यसको मतलव २०७४ को निर्वाचनमा राप्रपाले थ्रेस होल्ड नै कटाएन् । राप्रपाले ३ प्रतिशत मतसमेत नल्याउँदा राप्रपाको अस्तित्व संसद् भवनमा स्वतन्त्रको हैसियतमा पुगेको हो । तर यसपटकको निर्वाचनमा भने राप्रपाको बीउ जोगाउने राजेन्द्र आफैंले पार्टीको कमान्ड सम्हालेका छन् । उनले चुनावी अभियान तीव्र बनाउँदै लगेका छन् भने राष्ट्रिय पार्टी मात्र बन्ने ध्यानमा होइन उनी वैकल्पिक शक्ति बनाउने सपना जनतालाई सुनाएर घरदैलो पुगिरहेका छन् ।
उनको सपनालाई सार्थकता दिनका लागि पनि स्थानीय निर्वाचनको परिणामले भूमिका खेलेको छ । यसपटक राप्रपाको चुनावी अभियान र आमसभा हेर्दा राप्रपाको पक्षमा खुलेर वकालत गर्नेको संख्या ह्वातै बढेको छ । यसको एकमात्र कारण राजेन्द्रमाथिको विश्वास हो । उनले पार्टीबाट लाभ लिएर एकपटक पनि मन्त्री बनेका छैनन् भने उनी अध्यक्ष भएदेखि नै राप्रपाको माग पूरा नभई दायाँबायाँ नगर्ने बताइरहेका छन् । भ्रष्टचार गर्नु आमाको रगत खाएसरह हो भन्ने लिङ्देनको पक्षमा युवाहरु खुलेर लागेका छन् । उनले एकपटक मात्रै आफूलाई विश्वास गरिदिन अनुरोध गर्दै हिँडेका छन् ।
राप्रपाले सम्पूर्ण शक्ति अब संघीय र प्रदेश निर्वाचनमा लगाउने निश्चित नै छ । राप्रपाले उठाएको एजेण्डा पुरा गराउन राजेन्द्र कतिको लागि पर्छन, त्यो आगामी दिनमा देखिने नै छ । उनले जनताको मन जित्न सक्ने देखिएको छ । स्थानीय तहको निर्वाचनले पनि राजेन्द्र उदाउन सक्ने विकल्पलाई खुला गर्दिएको छ । राप्रपाले पाएको सफलताभन्दा पनि जनताको स्थापित दलप्रतिको वितृष्णाको प्रत्यक्ष लाभ राप्रपाले लिन सक्ने देखिएको छ । राप्रपाको नेतृत्व परिवर्तनले जनता केही आशावादी बनेका छन् । देशमा स्वतन्त्र चुनाव जित्नु पनि स्थापित दलका लागि खत्तराको घण्टी हो भने राप्रपाका लागि ग्रीन सिंग्नल हो ।
थापाको हार, राप्रपालाई फलिफाप
राप्रपाको अध्यक्षमा कमल थापाले पराजय बेहोरेपछि राप्रपामा पुनर्जीवन आएको छ । अहिले युवाहरु राप्रपा प्रवेश गर्ने मात्र होइन व्यक्तिगत रुपमा राजेन्द्रको फ्यान बनेका छन् । युवाहरु नयाँ नेतृत्व भएका कारण नै राजेन्द्रप्रति आकर्षित भएका हुन् । अन्य पार्टीलाई पटकपटक विश्वास गर्दा धोका भएको तर राप्रपाका लिङ्देनलाई अहिलेसम्म परीक्षण नै नगरिएको उनीहरु बताउँछन् ।
राप्रपाको अकर्षणको कन्द्रबिन्दू नै नेतृत्व परिवर्तन हो । अझ भन्ने हो भने युवाको भावनालाई समेट्ने अध्यक्ष राजेन्द्र भएका कारण उनीप्रति मानिसहरु आकर्षित भएका हुन् । राजनीतिक विश्लेषकले पनि राजेन्द्रको उदयलाई अर्थपूर्णरुपमा हेरेका छन् । सबै पार्टी महाधिवेशन करिव सँगसँगै भयो तर नेतृत्व परिवर्तन राप्रपाको मात्र भयो । एक राजनीतिक विश्लेषकले भने, ‘एमालेमा केपी ओली पराजित भएनन्, कांग्रेसमा शेरबहादुर देउवा पराजित भएनन् र माओवादीमा पनि प्रचण्ड नै दोहोरिए । तर सँगसँगै भएको महाधिवेशनमा राप्रपाको जिम्मेवारी युवाको काँधमा गएको हो । राप्रपामा सद्भाव र समर्थन पूर्वराजाको हुनु स्वभाविक भएको लिङ्देन स्वयं स्वीकार्छन् ।’
पूर्वराजालाई कमल थापाले पटकपटक धोका दिएको उनले बताए । ती विश्लेषकले भने, ‘उनले पद पाएपछि राजा त के पार्टीको विचार मार्गदर्शनमा अडिग हुन सकेनन् । उनले कसैको कुरा सुनेनन् । एक पटक २५ सिट भएको राप्रपा यसपटक राष्ट्रिय पार्टीसमेत बन्न सकेन । पूर्वराजाले यो कुरा बुझेर थापाप्रति जनताको सहानुभूति छैन, किनकि उनले पदलोलुपको मार्गदर्शन समाए । त्यही भएर राजाले परीक्षण नगरिएको युवालाई नेतृत्वमा ल्याए । थापाले भन्ने गरेको सत्य नै हो, निर्मल निवासबाट अप्रत्यक्ष रुपमा हस्तक्षेप भएकै हो, तर पूर्वराजाले पनि विश्वासघातिलाई कति बोकेर हिँड्ने भनेर थापालाई पाखा लगाइदिए ।’
राप्रपामा आस्था राख्नेहरु थापाले पार्टी छाडेपछि पार्टी सफा भएको टिप्पणी गर्छन् । थापाले पार्टीलाई दुर्गन्धित बनाएको उनीहरुको आरोप छ । माधव नेपालले पार्टी छाड्दा एमालेलाई घाटा भयो तर कमल थापाले पार्टी छाड्दा पार्टीलाई फाइदा भएको नेताहरु बताउछन् । राप्रपाका एक नेताले भने, ‘कुचोले बडार्नुपर्ने कसिङ्गर, हावाले उडायो । थापाले पार्टीप्रति आस्था राख्नेमाथि वितृष्णामात्र पैदा गरेका थिए । उनी यहीँ पार्टीको आँडमा कतिपटक सरकारमा गएँ । उनी पटकपटक सरकारमा जाँदा एजेण्डा बिर्सिन्छन् । त्यस्ता नेतालाई कसले विश्वास गर्छ । र विश्वास पनि के का लागि र कहिलेसम्म गर्नू ।’
नैतिकता नभएको नेता भनेर थापाले छाप छाडेका छन् । उनले पराजयको घाउलाई मेटाउन आफैं अध्यक्ष बन्न लागि पर्नु नै उनका लागि घातक साबित हुनेछ । उनीसँग राप्रपाका पक्षधर पनि गएका छैनन् । उनको प्यानलबाट पदाधिकारीमा निर्वाचित कसैले पनि पार्टी नछाड्नुले पनि थापाप्रतिको नेताबाट विश्वास उठेको बताउँछ । उनले गीताको कसम खाएर अब उप्रान्त पार्टी नछाड्ने बताएका थिए । तर, उनको कसम कति पनि टिकेन । उनी पराजयको ईगोहर्टले धर्म बोकेर राजसंस्था छाड्ने निर्णयमा पुगे । उनी आफैं धर्मप्रति कति विश्वास राख्छन्, उनले तोडेको कसमले प्रमाणित गर्छ ।
कसरी राजेन्द्र अघि बढे ?
लिङ्देन २०७४ को निर्वाचनबाट राष्ट्रिय राजनीतिमा उदाएका एक युवा हुन् । उनले देशभर राप्रपा पराजित हुँदा बलिया प्रतिस्पर्धी मानिएका कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै पार्टीको शाख जोगाएँ । उनले राप्रपालाई नयाँ जीवन दिने भन्दै राप्रपाको अध्यक्षमा लडे र विजयी बने । सबै पार्टीको नेतृत्व ७० कटिसकेकाले गरिरहँदा र राप्रपाको नेतृत्व एक युवाको काँधमा गएर पनि उनको चर्चा परिचर्चा व्यापक भएको हो । उनले सुरुदेखि नै भ्रष्टचारविरोधी भनेर आफूलाई चिनाए र आफूले एक पैसा भ्रष्टचार गरेको भनेर प्रमाणित गर्न चुनौती नै दिने गरेका छन् । उनले राप्रपाका उम्मेदवालाई भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्र टिकट दिने गरेका छन् ।
सकिसकेको राप्रपालाई नयाँ जीवन दिएका लिङ्देनले केन्द्रको राजनीतिमा प्रवेश गरेको ५ वर्षमै पार्टीको कमान्ड हत्याउन सफल भए । उनले जनतामाझ मात्र होइन २ दशक बढी राप्रपाको नेतृत्व गरेका थापालाई हराएर राप्रपाका महाधिवेशन प्रतिनिधिबीच पनि राम्रो छाप छोडेको बुझ्न सकिन्छ । महाधिवेशन प्रतिनिधिले थापालाई लात हानेर लिङ्देनलाई पार्टी हाइकमान्ड सम्हाल्ने अवसर मात्र दिएनन् फेरि एकपटक राप्रपालाई लोकप्रिय बनाउने भनेर राजेन्द्रको मार्गदर्शनमा हिँडे ।
२०६४ मा कसैले विश्वास नगरेको मत ल्याउँदै माओवादी पहिलो बन्यो । २०७४ कै निर्वाचनमा कांग्रेसले संघीय संसद्तर्फ एकचौथाइ सिट ल्याउन सकेन । त्यही भएर सजिलै अनुमान लगाउन सकिन्छ, नेपाली राजनीतिमा कसैको उदय र अन्त्य आम बुझाइभन्दा फरक हुन्छ । तर राजनीतिले यस्तो कोल्टे फेर्यो, हारको जिम्मेवारी लिनुपर्ने देउवाले उपहारमा प्रधानमन्त्री कम्युनिस्टको लडाइँका कारण पाए । यता कांग्रेस इतिहासमा नमिठो गरी पराजित हुँदासमेत कांग्रेसका महाधिवेशन प्रतिनिधिले देउवालाई नै अनुमोदन गरे । देशमा पार्टी नेतृत्वमा पुगेपछि आर्यघाटसम्म नेतृत्व नै गरेर जानुपर्ने साेंच नेतामा भइदिँदा एकपटक नेतृत्व हत्याएपछि उसलाई कहिले पनि त्यो पदले पुग्दैन । उ जस्तोसुकै प्रपञ्ज अपनाएर पनि पार्टी नेतृत्वमा दोहोरिन् चाँहिरह्ने व्यवहार नेपाली राजनीतिको बिराम हो । अनि आफू अध्यक्ष नहुँदा आफ्नै पार्टी सिध्याउन लाग्ने नेता हराम र बदनाम हो ।
राजेन्द्रले अहिलेको लोकप्रियतालाई बचाएर अघि बढ्न सके नेपाली राजनीतिको केन्द्रीय भूमिकामा उनको उदय चाँडै हुने आम आँकलन छ । तर मौका पाएपछि उनी पनि कमल थापाजस्तो पदलोलुपताको बाटोमा हिडे भने आज उनका समर्थकहरुले भोलि ढुंगा हान्ने निश्चित छ । अन्य पार्टीको खस्कँदो लोकप्रियताई उनले बुझेर अगाडि बढ्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । उनले कुनै पनि पार्टीसँग मिलेर चुनावमा जानुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने विश्लेषकहरु बताउछन् । स्थानीय निकायमा राप्रपाले कम्ति सिट जिते पनि अहिलेको झै चुनाव प्रचार गर्ने हो भने संघीय चुनावसम्म राप्रपाको लोकप्रियता झन बढ्ने छ । तर कमल थापाले जस्तो पार्टीको अस्तित्व नै समाप्त पारेर ‘आफ्नो चुनाव चिह्न जनतालाई थाहा छैन त्यहीभएर अन्य पार्टीको चुनाव चिह्नमा चुनाव लड्यौं’ भन्ने हो भने लिङ्देन पनि थापाजस्तै कहिले नउठ्नेगरी पक्कै पछारिनेछन् ।
राप्रपाले टेक्ने ठाउँ बनायो
निर्वाचनमा अपेक्षाकृत नभए पनि सम्मानजनक परिणाम ल्याइरहेको राप्रपाले प्रतिक्रिया दियो । राप्रपाविरुद्ध धर्म निरपेक्ष पक्षधर राजनीतिक दलहरूको घोषित÷अघोषित गठबन्धन बनेका कारण आशातित परिणाम नआएको भएता पनि यसपटक टेक्ने ठाउँ निर्माण गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमार्फत बताएका छन् । यसको जगमा उभिएर धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनःस्थापनाको दिशामा निरन्तर अघि बढिरहने श्रेष्ठले स्पष्ट पारे ।
संविधानले जबर्जस्ती धर्म परिवर्तनलाई निषेध गरेता पनि संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन गर्ने, गराउने काम भइरहेको उनले आरोप लगाए । उनले भने, ‘हामीले त्यसविरुद्ध निरन्तर आवाज उठाउँदै आइरहेका छौं । आफ्नो धर्म, संस्कृति र पहिचानमाथि भइरहेको अतिक्रमणविरुद्ध नागरिक स्वयं सचेत हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन् । जनताले एकदिन बुझ्नेछन्, बुझ्नैपर्छ । जनताको ताजा अभिमतलाई सम्मान र स्वीकार गर्दै जिम्मेवार राजनीतिक दलको हैसियतले बुझ्ने बुझाउने, सुन्ने, सुनाउने हाम्रो अविचलित अभियान जारी रहनेछ । नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनः स्थापित गरौं ।’
स्थानीय निर्वाचनमा राप्रपाको हैसियत
राष्ट्रिय प्रजातन्त्र पार्टीले चारवटा पालिका प्रमुख र पाँच उपप्रमुख जितेको छ । पार्टीले हालसम्म ६७ भन्दा बढी ठाउँमा वडाध्यक्ष जितेको राप्रपाले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका राम थापा विजयी बने । काठमाडौंको शंखरापुर नगरपालिकामा रमेश नापित निर्वाचित भए । कपिलवस्तुको शिवराज नगरपालिकामा अजय थापा विजयी भए । हल्दिबारी गाउँपालिकामा रवीन्द्र लिङ्देन विजयी बने ।
यस्तै पाँचवटा पालिकामा राप्रपाले उपप्रमुख जितेको छ । भद्रपुर नगरपालिका, रामग्राम नगरपालिका, रोहिणी गाउँपालिका, त्रिवेणी गाउँपालिका र हल्दिबारी गाउँपालिकामा राप्रपाले उपप्रमुख जितेको हो । राप्रपाले धेरै ठाउँमा दोस्रो मत ल्याएको छ । अधिकांश स्थानमा भने राप्रपा तेस्रो बनेको छ । वैकल्पिक शक्ति बन्ने राप्रपापाको ध्येयलाई मतपरिणामले थप मलजल गरेको छ । गठबन्धन र एमाले पछाडि राप्रपाको मत देशभर देखिएको छ । राप्रपालाई वैकल्पिक शक्ति बन्नका लागि जनताले ग्रीन सिंग्नल दिएको बुझिएको छ ।
जनताको मायालाई राप्रपाले बुझेर अघि बढ्न सके बिस्तारै राप्रपा स्थापित दलको टाउको दुखाईको विषय बन्न सक्छ । तर, राप्रपा यसमा अडिग भएर अगाडि बढ्न आवश्यक छ । हिजो कमल थापाको गल्ती दोहोर्याए, राप्रपा कहिले नउठ्ने गरी लड्न सक्छ । राप्रपालाई काँध थापेका राजेन्द्रले न्याय गर्न सके उनलाई जनताले विश्वास गर्न सक्छन् । स्थापित दलप्रतिको बितृष्णा बिसाउने ठाउँ पनि राप्रपा नै बन्ने छ । मौका पाएर पनि स्थापित दलको झैं व्यवहार गरे जनतलाई, ‘जुन जोगी आए पनि कानै चिरेका र कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने झैं राप्रपा हुनेछ ।