काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिकाकी नवनिर्वाचित प्रमुख रेणुका चौलागाईँद्वारा पदभार ग्रहण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित पालिका प्रमुख चौलागाईँले पदभार ग्रहण गर्नुभएको हो ।
स्थानीयस्तरमा विकासप्रेमी र समाजसेवीको पहिचान बनाउनु भएकी प्रमुख चौलागाईँले पदभार ग्रहण गरेलगतै आफ्ना प्राथमिकताका चार बुँदे निर्णयमा हस्ताक्षर गरी कार्य प्रारम्भको संकेत गर्नुभएको छ ।
उहाँले आफ्नो पहिलो प्राथमिकतामा स्थानीयको स्वास्थ्य क्षेत्रलाई रोज्नु भएको छ । चार बुँदे निर्णयको पहिलो बुँदामा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार गर्ने तथा टोलमा स्वास्थ्य संस्था शिविर सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, निर्णयमा प्राविधिक शिक्षाकाे प्रभावकारि रूपमा सञ्चालन गरी छात्रवृत्तिकाे व्यवस्था गर्ने, पालिका प्रमुखसँग प्रत्यक्ष जनगुनासाेकाे कार्यक्रम राखि जनतासँग प्रत्यक्ष जाेडिने तथा कृषि क्षेत्रकाे प्राेत्साहन र सहयाेग गर्ने उल्लेख गरिएकाे छ ।
यी हुन् प्राथमिकताका चार बुँदाहरू :
१. ज्येष्ठ नागरिकहरूलाई गाउँपालिका हस्पिटलमा निःशुल्क उपचार गर्ने, गाउँगाउँ टोलटोलमा स्वास्थ्य शिविरहरु संचालन गर्ने । रोग उन्मूलन, स्वस्थ स्वास्थ्यमा जोड दिने ।
२. प्राविधिक शिक्षाको प्रभावकारितालाई जोड दिने, प्राविधिक शिक्षा अध्ययन गर्नेलाई विशेष सहुलियत दिने, एवं छात्रवृत्तिको व्यवस्था गर्ने ।
३. गाउँपालिका अध्यक्षसँग प्रत्यक्ष जनगुनासो कार्यक्रम राख्ने र जनतासँग प्रत्यक्ष जोडिने ।
४. उत्कृष्ट कृषि र पशुपालन व्यवसाय गर्नेलाई पुरस्कृत, प्रोत्साहन र सहयोग गर्ने ।