काठमाडाैं । हुँदा खाँदाकाे सांसद पदबाट राजीनामा गरी स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका चार नेता पराजित भएका छन् । प्रदेश सभामा सांसद रहेका एमालेका चार नेतारू विजय सुवेदी, काजीमान कागते, कृष्ण थापा र केशव स्थापित पालिका अध्यक्षमा पराजित भएका हुन् ।
पराजय व्यहोर्नेहरुमा चितवनकाे भरतपुर महानगरपालिकाकाे प्रमुखमा उम्मेदवारी दिएका विजय सुवेदी, कास्कीकाे पोखरा महानगरकाे प्रमुखमा उम्मेदवारी दिएका कृष्ण थापा, इलामकाे सूर्योदय नगरपालिका प्रमुखमा उम्मेदवारी दिएकाे काजीमान कागते र काठमाडौंकाे काठमाडाैं महानगरपालिकाकाे प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापित पराजित भएका हुन् ।
विजय सुवेदी
भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका विजय सुवेदी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालसँग पराजित भएका छन् । सुदेवी बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर भरतपुर महानगरको मेयरका लागि उम्मेदवारी दिएका थिए । सुवेदी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालसँग १२ हजार ४४६ को मतान्तरले पराजित भए । रेणुले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरेका थिए ।
काजीमान कागते
एमालेको तर्फबाट इलामको सूर्योदय नगरपालिका प्रमुखको उम्मेदवारी दिएका काजीमान कागते पराजित भएका छन् । उनलाई एमालेले प्रदेश १ को प्रदेश सभा सदस्यबाट राजीनामा गराएर मेयरको उम्मेदवार बनाएको थियो । कागते नेकपा एकीकृत समाजवादीका रणबहादुर राईसँग १८ हजार ५२ मतान्तरले पराजित भएका हुन् । समाजवादीका राईले १२ हजार ४३१ मत प्राप्त गर्दा एमाले उम्मेदवार कागतेले १० हजार ५७९ मत प्राप्त गरेका थिए ।
कृष्ण थापा
एमालेले पोखरा महानगरपालिका प्रमुखमा कृष्ण थापालाई उम्मेदवार बनाएको थियो । थापा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित भएका छन् । गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा गराएर एमालेले उनलाई पोखरा महानगरको मेयरको उम्मेदवारको रुपमा अगाडि सारेको थियो । थापा एकीकृत समाजवादीका उम्मेदवार आचार्यसँग ६ हजार ४५ मतान्तरले पराजित भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार थापाले ५२ हजार ८४८ मत प्राप्त गरेका छन् ।
केशव स्थापित
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाएको थिाये । सत्ता गठबन्धनका उम्मेदवारको भन्दा दोब्बर मत ल्याएर चुनाव जित्ने अभिव्यक्ति दिँदै आएका स्थापितको हार निश्चित भएको छ । महानगरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) काठमाडौं महानगरको मेयर बन्ने निश्चित भएको छ । स्थापित तेस्रो स्थानमा रहेका छन् । स्थापितलाई एमालेले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा गराएर काठमाडौं महानगरको मेयरको उम्मेदवार बनाएको थियो ।