काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएसँगै केशव स्थापितको राजनीति पतनको दिशातर्फ अग्रसर भएको छ । नेकपा एमालेले जितेको ठाउँमा स्थान सुरक्षित गर्न नसकेसँगै आगामी दिनमा स्थापित टिकटबाट बञ्चित हुने निश्चितप्राय छ ।
काठमाडौंमा बालेनको जितले स्थापित राजनीतिबाट बिस्थापित नै हुने आँकलन गरिएको छ । सधैं विवादबीच रहने स्थापितलाई एमालेले विश्वास गरेर टिकट त दियो, तर उनले बिरासत जोगाउन सकेनन् । अब उनीमाथि प्रश्नको चाङ थुपारिएका छन् । एक दर्जनभन्दा बढी आकांक्षी रहेको काठमाडौंमा एमालेले उनलाई सक्षम उम्मेदवार ठानेर टिकट दिएको थियो । उनले पनि एमालेले टिकट दिएपछि भारी मतान्तरले विपक्षीलाई पराजित गर्नेसम्मको अभिव्यक्ति पटक पटक दिए । उनले विपक्षीलाई हल्कारुपमा लिए र पराजयको नमिठो स्वाद चाख्न बाध्य भए । सायद यो उनले एमालेबाट पाएको अन्तिम मौका पनि हुन सक्छ ।
बहालवाला मेयरदेखि पूर्व मन्त्रीलाई समेत पाखा लगाएर स्थापित टिकट खोस्न सफल भए । सायद यो पराजयसँगै उनले राजनीतिबाट हात धोएको हुनुपर्छ । हात नधोए पनि उनलाई अब हात धुन बाध्य पारिने छ । पछिल्लो समय धेरै गफमात्र दिएका स्थापितको राजनीतिक भविष्य पछारिएको छ । उनी कोमामा पुगेका छन् । अब उनको फेरि एक पटक मेयर बन्छु भन्ने सपना साच्चै सपनामात्र भएको छ । बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर मैदानमा उत्रिएका स्थापितको राजनीतिक जीवन नै स्वाहा भएको अर्थमा हेरिन थालिएको छ । उनको सपना र सायदै अबको आगामी दिनको राजनीति बिना गन्तव्यको भुवा भएको छ । जुन उडेर जहाँ पनि पुग्न सक्छ र हेर्दाहेर्दै हावामा बिलिन हुन सक्छ ।
स्थापित बालेनका ब्राण्ड एम्बासडर कि प्रतिस्पर्धी ?
स्थापित एक कार्यक्रममा स्वतन्त्र उम्मेदवार बालेनमाथि खनिए । उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए । उनले भनेका थिए, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । यो त अन्तर्राष्ट्रिय ठग रहेछ ।’
उनले अझ् बढी त मधेस र पहाडको जन्म प्रसँग सुनाउँदै अराजनीतिक टिप्पणी गरे । उनले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या । हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न । सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’
उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाउँदै सुरूवातमै ठगले मेयर बन्ने सपना नदेख्न चेतावनी दिएका थिए । उनले भनेका थिए, ‘दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ, मधेसको मान्छे मेयर आँट गरेर आउनु पर्दैन ? आँट चाहिँ केही छैन ।’
उनले युवाहरु बालेनको पक्षमा खुलेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ । फेस टू फेस बसेर कुरा गर्नुपर्यो नि ?’
बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए । उनले भने, ‘यस्तो मानिसको पछि युवा लाग्ने ? उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन ।’
विपक्षीको आलोचना गर्नुसमेत ठिकै मानिन्छ । तर स्थापितले बालेनलाई कहिले बेवकुफ भने त कहिले के र के भने ? यसको प्रतिवाद गरेर उल्टै स्थापितमाथि बालेन भने खनिएनन् । बरु उनले त आफ्नो ब्राण्ड एम्बासडर स्थापित बनेको भन्दै उल्टै धन्यवाद दिए । बालेनले ढुङ्गाको जवाफ फूलले दिए । त्यहीभएर पनि मतदाताको सहानुभूति पाउन बालेन सफल भए । उनले स्थापितको आक्रोशलाई ब्यालेट पेपरमा परिणत गरे । उनले सबैको भलो सोचेर अन्य प्रतिस्पर्धीभन्दा दह्रो भए ।
बालेनले स्थापितले जतिसुकै बेइज्जती गरेपनि सम्मान गरे । उनले ‘केशव बुवा’ भनेर समेत अन्तर्वार्तामा सम्बोधन गरेका थिए । चुनावी दौरान घरदैलो कार्यक्रममा जम्का भेट भएपछि बालेनले स्थापितसँग नै चुनाव जित्ने आर्शिवाद मागेका थिए । स्थापितले भने सफल इन्जिनियर बन्नू भन्नेसम्मको आर्शिवाद दिएका थिए । बालेन जहिले पनि स्थापितविरुद्ध सकारात्मक शैलीमा प्रस्तुत भए भने स्थापित आक्रामक शैलीमा प्रस्तुत भए ।
मि टू : स्थापितलाई भारी
काठमाडौँको मेयर हुँदा महानगरपालिकामै कार्यरत कर्मचारीलाई यौन उत्पीडन गरेको आरोप लागेको थियो । मि टू अभियानमा सहभागी हुँदै पूर्व कर्मचारी रश्मिला प्रजापतीले काठमाडौँ महानगरका पूर्व मेयरले आफूलाई यौन दुव्र्यवहार गरेको कुरा सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी थिइन् ।
स्थापितले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन् । १५ वर्ष अघि भएको उक्त ह्यारेसमेन्टबारे उनले यसअघि पनि विभिन्न मिडियालाई बताएको उल्लेख गरेकी थिइन् । जब चुनाव आउछ अनि हराउनका लागि विभिन्न किसिमका प्रोपगान्डा ल्याएर उम्मेदवारको बेइज्जती गर्ने काम भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका थिए । स्थापितलाई भोट माग्दिँदै ओलीले एमाले हराउनका लागि मि टू केस सतहमा ल्याइएको भन्दै आपत्ति जनाएका थिए ।
अब ओलीले मतदाताबीच मि टू केसको नकारात्मक प्रभाव परेको रहेछ भनेर बुझ्ने नै छन् । एमालेले २०७४ मा ल्याएको दुईतिहाइ मतमात्र पाएकाले पनि स्थापितको खस्कदो लोकप्रियतालाई मध्यनजर गरेर आगामी दिनमा उनलाई टिकटबाट बञ्चित गरिने छ । अब यो नै उनको अन्तिम हार हुनेछ र टेस्टेड व्यक्तिलाई अब एमालेले प्रदेश वा संघीय निर्वाचनमा फेरि टिकट दिन सक्ने सम्भावना एकदमै न्यून छ ।
पहिले मन्त्रीबाट बर्खास्त र अहिले राजनीतिबाट
प्रदेश ३ को भौतिक योजना मन्त्री हुँदा मुख्यमन्त्री डोरमणी पौडेलसँगको टसलका कारण केशव स्थापित २०७५ साल कात्तिक १६ गते पदमुक्त भए । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गरेका थिए । मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो ।
मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए । मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित काठमाडौं आएका थिए । नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन् ।
उनले मुख्यमन्त्री बन्ने इच्छा देखाएका थिए । तर मौका नपाएपछि उनी पौडेलसँग रुष्ट बने । एकै मन्त्रिपरिषद्मा रहेर पनि स्थापितले जहिले उल्टो खेद्ने गरेको पौडेललाई मन परेन । पैडेलले एक्सन लिए र स्थापितले रेकर्ड राखे । उनी प्रदेश सरकारमा बर्खास्तीमा पर्ने पहिलो मन्त्री बने ।
स्थापितले २०५४ सालमा ल्याएको आधा मत पनि पाएनन्
उम्मेदवारी दर्ता गराउँदै गर्दा उनले २०५४ सालमा पनि ८४ हजार मत ल्याएर जितेको भन्दै यसपटक १ लाख २० हजार मत ल्याएर जित्ने गफ दिए । स्थापितले कतिसम्म भन्न भ्याए भने बालेन नेवा समुदायको नभएको र नेवा समुदायको मत सबै आफूलाई आएर जित्ने दाबी गर्न छाडेनन् ।
स्थापितले सिर्जना सिंह र आफ्नो प्रतिस्पर्धा हुने तर आफूले मज्जाले जित्ने अभिव्यक्ति दिए । तर उनले सिर्जनालाई भन्दा बढी बालेनलाई आफ्नो प्रतिस्पर्धी मानेको पाइयो । उनले बालेनको आलोचना थुप्रै सार्वजनिक कार्यक्रम र मिडियामा दिएका अन्तवार्तामा गरे ।
स्थापितको राजनीतिक रूट अब कता ?
स्थापितको काम २०५४ सालमा मेयर हुँदाको आज पनि सम्झिने प्रशस्त छन् । तर पछि राजाले नियुक्त गर्दा उनले मेयर भएर केही गर्न नसकेको उनका समर्थकहर नै स्वीकार्छन । अस्थिर स्वभावका स्थापितको २०५४ सालको जति नै छबि नभएको एमालेका नेताहरु नै दाबी गर्छन् । एमालेबाट स्थापितले टिकट पाउँदा एमालेका थुप्रै कार्यकर्ता र नेताहरु रुष्ट भए । कहिले राजासँग पदका लागि नजिकिएका स्थापित, कहिले माओवादी त कहिले उपेन्द्र यादवको पार्टीमा समेत लागे ।
एमालेजनहरुले नै स्थापितलाई पिँध बिनाको लोटाको संज्ञा दिन्छन् । काठमाडौंका एमालेका पुराना नेता तथा पूर्वमन्त्री रामबीर मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा एमाले काठमाडौं महानगरबाट क्लीनस्वीप हुनेसम्मको अभिव्यक्ति दिन भ्याए । तिनैबाट थाहा हुन्थ्यो स्थापितले जति खोके पनि उनको हालत के हुँदैछ भनेर । स्थापितको उम्मेदवारीबाट पनि एमाले रुष्ट भएकाले त्यसको प्रत्यक्ष फाइदा बालेनलाई नै भएको चर्चा हुने गरेको छ ।
स्थापित मान्छे ठिकै, थुुतुनोचहिँ भएन
काठमाडौंको धुम्बाराही नेसनल कलेजमा आयोजित महानगरपालिकाको मेयरको उम्मेदवारहरूलाई प्रश्न गर्ने क्रममा भावना राउतले स्थापितमाथि लागेको यौन हिंसाको आरोपबारे प्रश्न उठाएकी थिइन् । तर स्थापितले उनको प्रश्नमा आक्रोशित हुँदै भने, ‘यू आर नाइस लेडी, तर थुतुनो ठिक भएन ।’
उनले दिएको उत्तर गैरजिम्मेवारीपूर्वक मात्रै थिएन, महिलालाई अपहेलित गर्ने थियो । मञ्चबाट उनले दिएको उत्तरले सबैको ध्यान खिच्यो र सामाजिक सञ्जालमा स्थापितको चर्को आलोचना भइरह्यो । स्थापित त्यत्तिकै रोकिएनन् । उनले थपे, ‘तपाईंसँग प्रमाण के छ ? मैले पनि यो बहिनी वेश्यावृत्ति गर्छ भनेर छपाई दिऊँ ?’
यो घटनाको समाचार सेयर गर्दै स्थापितलाई यौन दुव्र्यहारको आरोप लगाउने रश्मिला प्रजाप्रति प्रश्न गर्छिन्, ‘यो त अति भएन ? एउटा यौन दुराचारीले सार्वजनिक रुपमा एकजना महिलालाई जे बोले पनि सुनेर बस्ने एमालेका महिला नेतृहरू, महिला अधिकारकर्मिहरू र महिला पत्रकारहरू ?’
उनले एमालेले स्थापितलाई उम्मेदवार बनाउने भएपछि नै विरोध गरिरहेकी थिइन् । प्रजापतिले फेसबुकमै लेखेकी छिन्, ‘एमालेले काठमाडौंमा मेयर हुने कोही योग्य व्यक्ति नपाएर एक यौन दुराचारीलाई उठाएको छ । र, पद पाउने भएपछि महिलाको खुबै वकालत गर्ने एक युवा महिला तिनै दुराचारीको मतियार बन्न तयार भईन् । दुर्गन्धित राजनीति ।’
लेखक तथा अभियन्ता अर्चना थापाले यौन दुव्र्यवहारको आरोप लागेका व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउनु नै गलत भएको बताईन् । स्थापितले दिएको अभिव्यक्ति दम्भले भरिपूर्ण भएको उनले टिप्पणी गरिन् । ‘स्थापितले यस्तो अभिव्यक्ति दिनुमा उहाँको पार्टी पनि दोषि छ । पार्टीभित्र कसैले पनि उहाँलाई सोध्ने आँट गर्न सकेन ।’
यसले हाम्रो नेतृत्वको लागि देशको ठूला पार्टीले कस्ता उम्मेदवार छान्दैछन् भन्ने उदाहरण देखाउने उनले बताइन् । लोकतन्त्रमा उम्मेदवार जो सुकै छानिएर आए पनि उनीहरूलाई प्रश्न गर्ने छुट हुने उनले बताइन् । उनले भनिन्, ‘कुनै पनि पुरुष वा महिला उम्मेदवारको रुपमा छानिएर नाम सार्वजनिक भइसकेपछि नागरिकलले प्रश्न सोध्ने छुट हुन्छ । लोकतन्त्रमा उनीहरूका एजेन्डाबारे कार्यतालिकाको बारेमा र व्यक्तिगत कुरामा समेत प्रश्न सोध्ने छुट हुन्छ । किनकी प्रत्येक नागरिकको एउटा भोटले महत्त्व राख्छ ।’
स्थापितले आफ्नो जतिसुकै बचाउ गरे पनि उनको थुतुनोचहिँ ठिक नभएको एमालेका कतिपय नेताहरुले नै स्वीकार गरे । उनले महिलाको प्रश्नमाथि दिएको उत्तरले नै मेयर बन्न योग्य नरहेको धेरैको ठम्याई थियो । नतिजा पनि त्यस्तै आयो । सजिलै हराउने रणनीति लिएका स्थापित तेस्रो भएर खुम्चिए । सधासधाका लागि उनले लगभग राजनीतिबाट हात धोएँ । कांग्रेसकी सिर्जनालाई हराउन नसक्ने स्थापितले लोकप्रिय मत ल्याएका बालेनलाई हल्कारुपमा लिएँ । बोलीमा लगाम नहुँदा उनी दुःखद ढंगबाट राजनीतिक भर्याङबाट कहिले नउठ्नेगरी भुइँमा बजारिए ।
सुनिताले लोकप्रिय मत ल्याएर चुनाव जित्दा स्थापित तेस्रो
एमालेबाट उपमेयरकी उम्मेदवार बनेकी सुनिता डंगोलले विपक्षीलाई तेब्बर मतान्तरले हराइन् । मेयर बालेन शाह जतिकै लगभग मत पाएकी डंगोल भारी मतान्तरले विजयी बनिन् । तर एमालेबाट नै उम्मेदवारी दिएका स्थापित तेस्रो बने ।
स्थापितले मेयरमा प्रतिस्पर्धा सिर्जना र आफ्नो हुने दाबी गर्ने गरेका थिए । तर मेयर उम्मेदवार बालेन शाहको जित पक्का हुँदा स्थापित भने दोस्रो हुन लडाई लडिरहे । तर उनी दोस्रो पनि हुन सकेनन् । उनको सिर्जनासँग प्रतिस्पर्धा गर्ने रहर पुरा भयो । तर उनी पराजित भएँ । बालेनलाई त उम्मेदवार नै नठानेका स्थापितको राजनीतिक भविष्य लगभग टुंग्एिको एमालेजनले नै गाइगुई गर्न थालेका छन् । उनको राजनीतिक अन्त्य नमिठो पक्कै पनि भएको छ ।
देश प्रदेश र संघीय निर्वाचनको पनि संघारमा छ । तर स्थापितले न अब प्रदेश सांसद बन्ने मौका पाउछन् न त संघीय सांसद् नै । एमालेले स्थापितलाई विश्वास गरेर टिकट दियो तर आफ्नै थुतुनो ठेगानमा राख्न नसक्दा नमिठो पराजयको हकदार भएँ । उनलाई अब पनि एमाले हाइकमान्डले टिकट दिए उनीसँग रुष्ट थुप्रैले पार्टी छाड्छन् । त्यही भएर स्थापितले न अब टिकट पाउने सम्भावना छ न उनले टिकट पाएँ जित्न सक्ने रहेछन् ।
राजधानी रहेको महानगर जित्न सबै पार्टीले सक्दो प्रयास गरेकै हुन्छन् । अझ् भन्ने हो भने एमाले त निवर्तमान विजेता भएकाले पहिलो दाबी गर्नु स्वभाविक हो । त्यहीभएर पनि एमालेले बलियोमध्येका बलियोबाट स्थापितलाई उम्मेदवार बनायो । तर उनले टिकट पाएपछि देखाएको घमण्डीपन र सार्वजनिक कार्यक्रममा दिएका उत्तरले उनको हारको दिशानिर्देश गर्दै थियो । बस् फैसला हुन बाँकी थियो अनि मत हाल्न र गन्न बाँकी थियो । देशका शिक्षित जनता बस्ने भनेर चिनिने महानगरबासीले सजिलैगरी उम्मेदवार चिन्ने नै भएँ । ५६ जना उम्मेदवार रहेको महानगरमा स्थापितले एकल उम्मेदवारी परे झैं गरे । शंकीपनका कारण उनले एमाले उपमेयर उम्मेदवारभन्दा निकै कम मत पाए ।
अधिकांश वडामा पनि एमाले नै विजयी बनेको छ । तर मतदाताले ६ मत एकातिर हालेर स्थापितलाई बाइपास गर्न खोजेको देखियो । एमाले र कांग्रेसले पनि बालेनलाई एक मत दिइएको ब्यालेट पेपरमा भेट्टियो । मतदाताको कांग्रेसभन्दा पनि अझ् स्थापितप्रति नैराश्यता पैदा भएको पुष्टि भयो । जति ब्यालेट बक्स खोलिन्छ, त्यति नै बालेनको अग्रता बढ्दै गयो । अब भित्रि बस्ती आएपछि ‘म जित्छु’ भनेर हिजोअस्तीसम्म कराउने स्थापितको अहिले कुनै आवाज सुनिदैन । शायद आँखै अगाडि स्वतन्त्र बालेन आफ्नै शहरमा स्थापित भइरहँदा आफू विस्थापित हुनुपरेको महानगरको राजनीतिको गम्भीर समीक्षामा व्यस्त पो छन् कि ।