काठमाडाैं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समिति अन्तर्गतका उपसमितिहरुलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरुले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।
उपसमितिहरुले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो समितिले वार्षिक प्रतिवेदन चालु संसदमा बुझाउनुपर्ने भएको हुनाले यो समिति अन्तर्गतका विभिन्न उपसमितिहरुहरुले आआफ्नो प्रतिवेदन केहीले बुझाइसक्नुभएको छ । केहीले बुझाउन बाँकी रहेको हुनाले १० दिनभित्र समितिमा उपसमितिहरुको प्रतिवेदन बुझाइदिनको निम्ति आजको बैठकले निर्णय गर्यो । ति उपसमितिहरुको प्रतिवेदन प्राप्त भएपछि पुनः बैठक बसेर संसदमा वार्षिक प्रतिवेदन पेश गर्ने भनि निर्णय गरियो ।'
उहाँले भन्नुभयाे, 'अर्को, विभिन्न मन्त्रालयहरुको विषयमा यो समितिमा परेको निवेदन अनुसार हाल संसद चलिरहेको हुनाले र बजेट सेसन भएको हुनाले सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीको लागि पठाइदिने, र यो बजेट सेसन पछि सम्बन्धित मन्त्रीहरुलाई, सचिवहरुलाई, डिजीहरुलाई बोलाएर समितिमा पुनः छलफल गर्ने भन्ने आजको बैठकले निर्णय ग{यो ।’
समितिले विभिन्न मन्त्रालयहरुका विषयमा समितिमा परेको निवेदन अनुसार आवश्यक कारबाहीका लागि संसदको बजेट सेसन सकिएपछि सम्बन्धित मन्त्रालयहरुमा पठाउने र सम्बन्धित मन्त्री, सचिव तथा आवश्यक पदाधिकारीलाई समितिमा बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ ।