काठमाडाैं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गर्नु भएको छ ।
स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिईरहन आवश्यक नभएको तर्क समेत गर्नुभयो ।
शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकीर समेत गर्नुभयो ।
निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो ।
उहाँले विपक्ष दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राख्नुभयो ।
महामन्त्री थापाले सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । स्थानीय तहको निर्वाचन शान्दार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसीर भित्र संघ र प्रदेशको चुनाव गराउने उहाँले बताउनुभयो ।
उहाँले मुलुकमा गम्भिर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने बताउनु भयो । पूर्वमन्त्री समेत रहनु भएका महामन्त्री थापाले आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट पार्न सकिने भएकाले त्यस विषयमा सरकारलाई गम्भिर बन्न पनि ध्यानाकर्षण गराउनुभयो ।
महामन्त्री थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।