काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गणतन्त्र दिवस–२०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
अध्यक्ष खनालले जारी गर्नुभएको विज्ञप्तिमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेका शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो। जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियाैँ देखिको सामन्ती, निङ्रकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरिएको विज्ञप्तिमा यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, “क्रान्तिकै बलबाट हामीले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख संविधान र सामाजिक न्यायका उपलब्धि हासिल गरेका छौँ, जनक्रान्तिकै म्याण्डेट बमोजिम हामीले संविधानसभाको निर्वाचन गर्यौँ, संविधान निर्माण गरे पश्चात संविधान कार्यान्वयन गर्ने सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन गर्यौँ, भर्खरै मात्र पनि हामीले दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्यौँ, यी हामीले हासिल गरेका महत्वपूर्ण संरचनागत उपलब्धि हुन्।”
सम्पूर्ण देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्व बनाउन आग्रह गरिएको उक्त विज्ञप्तिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्न र सामाजिक–आर्थिक विकास तथा रुपान्तरणलाई तीव्र बनाउँदै वैज्ञानिक समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न भनिएको छ