काठमाडाैं । कोरोना महामारीका कारण विदेशी भूमिमा हुन नसकेको नेपाली फिल्मसम्बन्धी गतिविधि बढ्ने संकेत देखिएको छ । थर्ड आई टिमको आयोजनामा बेलायतको राजधानी लन्डनमा पाँच दिने ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२२’ आयोजना हुने भएको छ ।
शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष मनोज केसीले पाँच दिनसम्म १० वटा फिल्म प्रदर्शन गरिने जानकारी दिनुभयाे ।
‘हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म लन्डनमा देखाउने छौँ । यसले नेपाली फिल्मको बजार विस्तारमा त टेवा पुर्याउँछ नै, नेपाली कला, संस्कृतिलाई समेत प्रवर्द्धन गर्छ,’ केसीले भन्नुभयाे, ‘हामीले कोरोना महामारीपश्चात नेपाली फिल्मलाई लिएर विदेशी भूमिमा कार्यक्रम गर्न लागेका हौँ ।’
उहाँले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन र नयाँ–नयाँ स्वाद बोकेका नेपाली फिल्मलाई देखाउन कार्यक्रमको आयोजना गरेको बताउनुभयाे । ‘हामीकहाँ के कस्ता फिल्महरु बनिरहेका छन्। त्यो प्रवासी नेपाली दर्शकले थाहा पाउनु जरुरी छ । त्यसैले हामीले सेलेक्ट गरेर केही फिल्म मात्र देखाउने छौँ,’ उहाँले भन्नुभयाे ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब ४० जनाको हाराहारीमा फिल्मकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिस सहभागी हुनेछन् । महोत्सव सेप्टेम्बरमा हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी शुरु भइसकेको बताइएको छ ।
आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने फिल्महरुको छनोट प्रक्रिया शुरु गरिएको जनाएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण नभएका, तर हलमा मात्र रिलिज भएका फिल्ममध्येबाट १० वटा फिल्मलाई महोत्सवमा सहभागी गराइने बताइएकाे छ ।
थर्ड आई टिमका नेपाल च्याप्टर प्रतिनिधि हरि सिलवालले फेस्टिभललाई सभ्य र भव्य बनाउने गरी तयारी भइरहेको जानकारी गराउनुभयाे । संस्थाले विगत दश वर्षदेखि विभिन्न कार्यक्रम गर्दा जम्मा हुने रकमले अभिभावकविहीन बालबालीकाहरूका लागि सहयाेग गरिरहेकाे सिलवालले बताउनुभयाे । उहाँका अनुसार २०७२ काे गाेरखा भूकम्पमा परी समस्यामा परेका पीडितका लागि पनि संस्थाले विविध सहयाेगकाे कार्य गरेकाे थियाे ।
संस्थाले सन् २०१२ मा 'पिकनिक इन लण्डन' काे कार्यक्रम आयोजना गरी पत्रकार भुषण दाहाल, न्ह्यु बज्राचार्य, आनिछोङ डोल्मा, जेम्स प्रधान, निमा रुम्बासहित २५ जनाको जम्मो टोलीले सांगीतिक प्रस्तुति दिएकाे सिलवालले बताउनुभयाे । त्यस्तै, सन् २०१७ मा भएकाे फिल्म अवार्डमा ४५ जनाकाे कलाकार तथा प्राविधिकाे जम्माे टाेलीले लण्डनमै सांगीतिक प्रस्तुतिका साथै अर्वाड सेरमाेनि गरेकाे थियाे ।
यसपटक पनि ४५ देखि ५० जनाकाे सांगीतिक टाेलीसहित विदेशी भूमिमा रहेका संगीत प्रेमीहरूका लागि विशेष प्रस्तुति दिने तयारी रहेकाे नेपाल प्रतिनिधि सिलवालले बताउनुभयाे । नेपाली गीत संगीतका तथ नेपाली संस्कृतिकाे विश्वव्यापी प्रवर्द्धन गर्नु संस्थाकाे उद्देश्य रहेकाे उहाँले भनाइ छ ।
कलाकार नीर शाहले यस्तो खालका कार्यक्रमले नै विश्व बजारमा नेपाली फिल्म पुग्ने बताउनुभयाे । ‘हामीले नेपाली फिल्मको बजारलाई अगाडि बढाउन यस्ता गतिविधिले मद्दत गर्छ । यसलाई सम्पूर्ण फिल्मकर्मीले मिलेर सफल बनाउनुपर्छ,’ शाहले भन्नुभयाे । उहाँले मनोज केसीले नेपाली अवार्डलाई पहिलोपटक विदेशी भूमिमा पुर्याएको स्मरणसमेत गर्नुभयाे ।
अभिनेत्री करिश्मा मानन्धरले आफ्नै मान्छेबाट पाइने उपाधि र सम्मानले झनै अगाडि बढ्ने प्रेरणा मिल्ने बताउनुभयाे। अभिनेता सरोज खनालले आफूले नेपाली फिल्म प्रवद्र्धनका लागि गरिने कार्यक्रममा सहभागि हुनुका साथै सहयोग गर्ने पनि बताउनुभयाे ।
अभिनेत्री निरुता सिंहले आफू नेपाली फिल्मको प्रवद्र्धनका निम्ति सदैव साथमै रहेको बताउनुभयाे । मुम्बईबाट नेपाल आइपुगेकी निरुताले अब नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार बढाउन फिल्मकर्मीहरु जुट्नुपर्ने बताउनुभयाे।