काठमाडौं । मिथिलाञ्चलमा आज वरसाइत (वटसावित्री) पर्व मनाइदैछ ।
जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलाका नारीहरुले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ ।
अघि सत्य युगमा सति सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजाआराधना गरेर यस पर्व मनाउँछन् । बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
बितेका लगातारका दुई वर्ष कोभिड–१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएका मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरुपमा व्रतको तयारीमा छन् । सावित्रीले आफ्नो तपोवलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई तपोवलले जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ ।
वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको छ ।
नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नदेखि औँसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यस व्रत परम्परा छ । साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीका लागि भेटघाट, र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेको छ ।