काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पदभार ग्रहण गरेका छन् । राष्ट्रिय सभागृहमा सपथग्रहण लगत्तै महानगरपालिकाको भवन पुगेर उनले सोमबार पदभार ग्रहण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण भएको छ । पदभार सम्हाल्दै मेयर शाहले सोसम्बन्धी निर्णयमा हस्ताक्षर गरे । बालेनले काठमाडौंको चुनावी अभियानको क्रममा नै महानगरका सबै बैठकहरू पारदर्शी बनाउन लाइभ प्रसारण गर्ने बाचा गरेका थिए ।
मेयर शाहले ६ बुँदे बुँदाहरु वडाध्यक्ष सामुन्ने प्रस्तुत गरे । उनले पहिलो बुँदामा वडाध्यक्षसँग परिचयात्मक कार्यक्रम गरे । दोस्रो बुँदामा भने मतदातालाई धन्यवाद दिने प्रस्ताव थियो । तेस्रो बुँदामा सधैं भइरह्ने कुरा तर एकदम महत्त्वपूर्ण कुरा थियो । त्यो हो फोहोर व्यवस्थापन । चौथो बुँदामा सार्वजनिक शौचालयका कुरा उठान गरिएको छ । पाँचौं बुँदामा गुनासो सेन्टर स्थापना हुने उनले बताए । छैटौं नम्बरमा भौत्तिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने उनले बताए ।
फोहोर व्यवस्थापन
केही समयअघि मेयरमा निर्वाचित भइसकेपछि आफैं सिसडोल पुगेका बालेनले आफूहरु हत्यारा भएको दाबी गरे । उनले काठमाडौंबासीको समस्याभन्दा सिसडोलका जनताको समस्यालाई उजागार गरे । उनले सिसडोलबासीका समस्याको चर्चा परिचर्चा गरे । उनले बन्चरे डाडा र सिसडोलबासीको प्रत्येक घरमा एक क्यान्सर पीडित भएको दाबी गरे । उनले भने, ‛काठमाडौं महानगपालिकाको फोहोर त्यहाँ जम्मा भएर गाह्रो भएको छ । प्रत्येक घरमा एक क्यान्सर पीडित होलान् । बस्न एकदमै अयोग्य भइसकेको ठाउँ । एक हिसाबले भन्ने हो भने त्यो ठाउँ आफैंमा एक मन्दिर हो, जहाँ काठमाडौंबासीको पापको धुलाई कार्यक्रम भइराखेको छ ।’
उनले फोहोरका कारण उत्साह मनाउनेभन्दा पनि शोक मनाउनुपर्ने बताए । उनले भने, ‛२९४ दिनअघि नै हामीले खादा, माला, अन्तर्वार्ता र सेलिब्रेसनहरू फोहोरको व्यवस्थापन नभएसम्म नगर्ने भनेका छौं । हामीले गरेको पापको भारी सिसडोलबासीले भोग्दै हुनुहुन्छ । उहाँहरू क्यान्सर पीडित हुन भएको छस छालाको रोग लागेको छ । मानिस मरिरहनुभएको छ । यो शोक मनाउने बेला हो । फोहोरको व्यवस्थापन नहुन्जेल र सिसडोलबासीले स्वच्छ वातारण र हावामा बस्ने र पानी पिउने वातावरण नहुन्जेल अरु काम हुँदैन ।’
सार्वजनिक शौचालय
मेयर शाहले होटेल, रेष्टुरा लगायतले सबैलाई शौच गर्न दिने वातावरण मिलाउनु पर्नेमा जोड दिए । उनले महानगरको शाइन बोर्ड त्यस्ता ठाउँमा राख्ने र कसैलाई नसोधी आमनागरिकले ढुक्कसँग शौच गर्न सक्ने वातावरण बनाउने बताए ।
उनले गुगल म्याप प्रयोग गरेर होटेल, रेष्टुरालगायतमा शौच गर्न सक्ने जान सकिने बताए । उनले बिना पैसा शौच गर्ने वातावरण बनाउने बताए । महानगरले पनि सार्वजनिक शौचालय बनाउने तर अहिले हाललाई भएको कुरालाई नै प्रयोग गर्नेमा उनले जोड दिए । उनले होटेलहरुले सहयोग गर्नेमा विश्वास व्यक्त गरे । उनले विदेशी टुरिस्टले पनि गुगल प्रयोग गरेर निःशुल्क शौचालय प्रयोग गर्न सक्ने स्पष्ट पारे ।
गुनासो सेन्टर
उनले महानगरले ३२ वटा वडाको गुनासो सुन्न कल सेन्टरको स्थापना गर्ने बताए । उनले सम्बन्धित वडाका वडाध्यक्षले गुनासो टिपोट गरेर समाधाना गर्न लाग्नुपर्ने तर्फ जोड दिए ।
उनले अहिलेलाई कल सेन्टरबाट गुनासो सुन्नेमात्र बताए । भविष्यमा मानिसलाई आवश्यकता पर्ने एम्बुलेन्स लगायतका सेवा कल सेन्टरबाट उपलब्ध हुने उनले् बताए । उनले अहिलेलाई सिस्टम बसाल्न गुनासो सेन्टर प्रयोगमा ल्याइने बताए । कल सेन्टर मेयर र उपमेयरलाईमात्र नभएर वडाध्यक्षलाई पनि भएको उनले स्पष्ट पारे ।
भौतिक पूर्वाधार एम्बुलेन्स
मेयर शाहले दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने बताए । उनले इन्जिनियरलगायतका प्राविधिक एम्बुलेन्सभित्र हुने स्पष्ट पारे ।
उनले छिटो सेवा दिनका लागि यो सेवा सञ्चालनमा ल्याउन् लागिएको बताए । उनले गुनासो सेन्टरमार्फत फोनत गरेर एम्बुलेन्सको सहयोग माग्न सकिने जानकारी दिए । उनले भने, ‛बाटो फुट्यो, ढल फुट्यो वा केही समस्या पर्यो भने तत्काल त्यसलाई समाधान गर्नेतर्फ लाग्नुपर्छ । नभए त्यो सानो समस्या बढेर ठुलो हुन्छ । अनि त्यो टेन्डरका लागि पुग्छ । यसको लागि धेरै खर्च लाग्दैन । तरुन्तै सेवा दिन सकिने कुरा भयो यो ।’
कार्यपालिकामा कांग्रेसको एकल बहुमत
नगरसभामा नेपाली कांग्रेसको बहुमत भएसँगै अब महानगरको कार्यपालिका कस्तो हुन्छ भन्ने पनि चर्चा गरौं । कार्यपालिका हरेक नगरको महत्वपूर्ण निकायका रुपमा रहेको हुन्छ ।
नगर कार्यपालिकामा स्थानीय तहको कार्यकारिणी अधिकार निहित हुन्छ । नगर कार्यपालिकाबाट बजेट तथा कानुनहरु पारित भएपछि मात्रै कार्यान्वयनमा आउने गर्छन्न् । नगर सभामा निर्वाचित जनप्रतिनिधिहरूको कूल संख्याको बहुमत–अल्पमतको अंकगणितको आधारमा नगर प्रमुखले अगाडि सारेका कार्यक्रमहरू अघि बढ्न सक्ने अवस्था रहन्छ ।
नेपालको संविधानको धारा २१६ मा नगर कार्यपालिकासम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख, प्रत्येक वडाका वडा अध्यक्ष, नगर सभाबाट निर्वाचित ५ जना महिला सदस्य र ३ जना दलित वा अल्पसंख्यक समुदायबाट रहने छन् । महिला सदस्यहरु नगरसभा (निर्वाचित जनप्रतिनिधिहरु) बाटै चयन हुनुपर्ने भए पनि दलित वा अल्पसंख्यकको हकमा भने नगर सभा सदस्य वा सम्बन्धित नगरपालिकाभित्रको मतदाता भए पुग्छ ।
काठमाडौं महानगरपालिकामा ३२ वटा वडा भएकाले यहाँ ४२ सदस्यीय नगर कार्यपालिका गठन हुन्छ । काठमाडौं महानगरमा कांग्रेसको एकल बहुमत छ । कांग्रेसले ३२ मध्ये १९ वडा जितेको छ भने नगरसभामा पनि बहुमत देखिएकाले कार्यपालिकामा निर्वाचित भएर आउने ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक पनि नेपाली कांग्रेसकै निर्वाचित हुनेछन् ।
नगर कार्यपालिकामा निर्वाचित भएर आउने ८ र निर्वाचित १९ जना समेत जोड्दा नेपाली कांग्रेसको पक्षमा २७ सदस्य हुनेछन् । यहाँ एकल बहुमत नेपाली कांग्रेसको नै हुनेछ ।
काठमाडौं महानगरपालिकामा कुल १६५ सदस्यीय नगरसभा हुन्छ । जसमध्ये १६२ जना प्रत्यक्ष निर्वाचित हुन्छन् । जसमा मेयर÷उपमेयर, वडाध्यक्ष र सदस्यहरू पर्छन् । यसबाहेक ३ जना कार्यपालिका निर्वाचनबाट निर्वाचित हुने सदस्य हुन्छन् । कार्यपालिका सदस्यमा ८ जनाका लागि निर्वाचन हुन्छ । जसमा पाँचजना प्रत्यक्ष निर्वाचित सदस्यबाटै निर्वाचित हुन्छन् भने थप तीनजना बाहिरबाट दलित र अल्पसंख्यकबाट निर्वाचित हुने व्यवस्था छ ।