काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
माओवादी केन्द्रले स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले काठमाडौंमा दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षणको आज बिहान ११ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने बताइएको छ । पार्टीका शीर्ष नेता एवं संघीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिनेछन् । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले अनुभव आदानप्रदान गर्ने कार्यक्रम पनि राखिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बुधबार र बिहीबार आयोजना हुने कार्यक्रम कमलपोखरीस्थित पूरानो कुमारी हलमा हुनेछ ।
प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी हुनेछन् । उद्घाटन सत्रमा अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनुहुनेछ । उद्घाटन सत्रपछि पहिलो दिन ‘आज स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिने कार्यक्रम छ ।