काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त ढकालले सरकारले ल्याएको बजेटमा परिकल्पनाहरू मात्र समेटिएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष ०७९÷८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ढकालले बजेटमाथि खह्रो व्यङ्ग्य गरे ।
उनले चितवन एक घण्टामा पुग्ने, चतराबाट सगरमाथा २ घण्टामा पुग्ने भन्ने एउटा सुन्दर परिकल्पना मात्र भएकाले अब चन्द्रलोक पुग्ने बाटोको पनि परिकल्पना गर्नुपर्ने भन्दै व्यङ्ग्य गरे । प्रतिनिधि सभा सदस्य भानुभक्त ढकालले सरकारको बजेट माथिको छलफल विषयबस्तुमाथि भन्दा पनि प्रतिपक्षीलाई गाली गर्न केन्द्रित भएको बताए ।
ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा असम्भव कार्यक्रम राखिएको भन्दै आक्रोस व्यक्त गरे । ढकालले भने ‘एक घण्टामा चितवन पुग्ने फास्ट ट्रयाक बनाउने गफ बजेटमामार्फत सरकारले दिएको हो ।’
उनले परिकल्पना गरेर मंगल ग्रह पुग्न सरकारलााई सुझाव दिए । उनले भने, ‛काठमाडौंबाट चितवन एक घण्टामा, चताराबाट सगरमाथा दुई घण्टामा पुग्ने बाटो बनाउने ? लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता छ महोदय, व्यक्तिगत रूपमा चन्द्रलोक जाने बाटो बनाउँनोस् ।’
राम्रो कुरा आफू पनि ल्याउन नसक्ने अरुले ल्याएको कुरा पनि स्विकार्न नसक्ने अवस्थामा सरकार रहेको उनले दाबी गरे ।उनले सरकारलाई राम्रो गर्ने कुरामा प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनलाई आग्रह गरे । उनले कृषिमा राख्न लागिएका ३०० जना कृषि स्वयंसेवक गठबन्धन जिताउनका लागि राख्न लागिएको आरोप लगाए ।
उनले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको भनाईमा आफ्नो समर्थन रहेको बताए ।