काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस पनि एमाले जस्तै अहंकारी हुने त होइन भनेर आशंका व्यक्त गरेका छन् । बुधबार पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सरकार सञ्चालनबारे प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनमै रहेको कांग्रेसप्रति यस्तो आशंका व्यक्त गरे ।
अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि कतिपय कांग्रेसका नेताहरुमा अहंकार देखिन सक्ने देशभरबाट रिपोर्ट आएको बताए । उनले गठबन्धनलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै बृहत्तर राष्ट्रिय हितका लागि केही काम गरेपनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गर्ने गरेको दाबी गरे । माओवादीलाई हल्का रूपमा नलिन कांग्रेसलाई प्रचण्डले चेतावनी दिए ।
मेहनत गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए पनि अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको उनले उल्लेख गरे । उनले एमालेसँग पनि गठबन्धन र पार्टी एकता राम्रो उद्देश्यका लागि गरिएको भए पनि केपी ओलीको अहंकारले त्यो नटिकेको बताए । अध्यक्ष प्रचण्डले भने, ‘अहिले कांग्रेस पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले मेहनत गरेरै प्रधानमन्त्री बनायौं ।’
उनले कांग्रेसमा पनि एमालेजस्तै दम्भ र अहंकार चुलिएर आउने हो कि भन्दै चिन्ता व्यक्त गरे । उनले चेतावनी दिँदै भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर आउने हो कि भनेर चिन्तित छौं । एमालेलाई ठेगाना लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु ।’
उनले कांग्रेस र कांग्रेसका नेतालाई अहंकार र दम्भ नपाल्न अनुरोध गरे । आगामी निर्वाचनसम्म नै माओवादीले गठबन्धन बनाएरै अघि बढ्न चाहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि कांग्रेसले चुलिँदै गएको दम्भ र अहंकार त्याग्नुपर्ने बताए । उनले भने, ‘कांग्रेसमा एमालेजस्तै दम्भ र अहंकार आयो भने त्यसका लागि फेरि पनि विद्रोह गर्ने दिन आउनेछ । अस्तिको गठबन्धनको बैठकमा पनि यो विषयलाई गम्भिर रूपले उठाइएको छ । स्थानीय तहको निर्वाचनमा जुन हिसाबले गतिविधि देखियो, अब त्यो नहोस् भन्ने हो ।’
उनले अहंकार र दम्भले कहीँ नपुगिने भन्दै राष्ट्र र जनताप्रति इमान्दार बन्न आग्रह गरे । उनले अहंकार र दम्भ आए फेरि विद्रोह गर्ने भन्दै त्यस्तो नहोस् भन्ने अपेक्षा गरेको बताए ।