भीम चौधरी
धनगढी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । जेठ २० गते मतदाता नामावली प्रकाशनबाट शुरु हुने निर्वाचन प्रक्रिया ३० गते मतदान भएर सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार २२ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ भने ३० गते बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तो छ जोडघटाउ
१३ पालिका रहेको कैलाली जिल्लामा २६ जनाले मतदाता गर्न पाउने छन् । जसमा एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका जनप्रतिनिधि छन् । एक जना सत्ता गठबन्धनविरुद्ध चुनाव लडेका कांग्रेसका नेता छन् । यी दुई जनाको मत जिल्ला समन्वय समिति गठन गर्न निर्णायक हुने देखिएको छ।
जिल्ला समन्वय समितिको संयोजक बन्नका लागि १४ मत आवश्यक पर्छ । तर, सत्ता गठबन्धनसँग १३ मत मात्रै छ । कांग्रेससँग ८, माओवादीसँग ४ र एकीकृत समाजवादीसँग एक मत गरेर जम्मा १३ मत हुन्छ । यसमा पनि एकजना कारबाहीमा परेका छन् ।
गठबन्धनविरुद्ध उमेदवारी दिएको भन्दै कांग्रेस नेता तथा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई कारबाही गरिएको थियो । सो कारबाही फुकुवा नभए गठबन्धनसँग पनि १२ मत मात्रै हुन्छ । सो कारण पनि सत्ता गठबन्धनलाई जिल्ला समन्वय समिति गठन गर्न सजिलो छैन ।
कैलालीका चार स्थानीय तह जितेको नागरिक उन्मुक्ति पार्टीसँग ७ मत छ । एमालेसँग ५ मत छ । एमाले र नागरिक उन्मुक्ति मिल्दा पनि १२ मत मात्रै हुन्छ । सो कारण यसले पनि समन्वय समिति गठन गर्न सम्भव छैन । ८ मत रहेको कांग्रेस र ७ मत रहेको नागरिक उन्मुक्तिले प्रमुख आफूले पाउनुपर्ने दाबी गरिरहेका छन । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेकाले पनि कैलालीलाई राजनीतिक दलले चासोका रुपमा हेरिरहेका छन् ।