काठमाडौं । आगामी आइतवारदेखि पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
दैनिक पाँच घण्टा बाटो बन्द गरेर उक्त सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन लागेको हो । तनहुँस्थित याम्पाफाँट–घाँसीकुवा सडक खण्डबाट काम सुरू गर्न लागिएको मुग्लिङ–पोखरा सडक योजना तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
जेठ २२ गते आइतबारदेखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने उहाँले बताउनुभयो ।
अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।
नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो।
२०२६ मा रेखाङ्कन भएको यो सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो।
चार लेनको सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ।
डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।
सडक चार लेनको बने अहिले भएका पुलको ठाउँमा नयाँ पुल बनाइनेछ।
आँबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक चार लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने बताइएको छ।