शिब बोहोरा
कास्की । जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । निर्वाचनमा नेकपा एमालेको प्यानल नै विजयी भएको हाे।
शुक्रबार पोखरामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन्।
प्रमुखमा लीलाधर पौडेल नेपाली कांग्रेसका दीपेन्द्र ढकाललाई पराजित गरी विजयी भएका हुन्। पौडेल पोखरा २२ का निर्वाचित वडा सदस्य हुन् भने ढकाल मादी गाँउपालिका वडा नम्बर १२ बाट निर्वाचित सदस्य हुन् ।
उप प्रमुखमा माओवादीकी उषा थापालाई पराजित गर्दै एमालेकी सरिता कुमाल विजयी भएकी छिन्। थापा रुपा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् । प्रमुखमा निर्वाचित लीलाधर पौडेल भन्छन्, 'कास्कीली जनताको भावना अनुसार काम गर्ने छु।'
त्यस्तै, सदस्यमा पोखरा २१ का सीतादेवी विक, रुपाका हर्क बहादुर गुरुङ, मादीका राजु अधिकारी, अन्नपूर्णका गणेश बहादुर घर्ति र वालिका सुवेदी, माछापुच्छ्रेका लक्ष्मी दमै, सुकमाया नेपाली चुनिएका छन् ।
कांग्रेसबाट जिससको खुला सदस्यमा मादीका ओमप्रकाश गुरुङ र अन्नपूर्णका विजय गुरुङ, दलित तथा अल्पसंख्यकतर्फ पोखरा ४ की विष्णुमाया परियार, महिला सदस्य गोमा सुवेदी, शान्ता अधिकारी र गंगा रानाभाट उम्मेदवार थिए ।