हस्त चौलागाँँई
कालिकाेट । स्थानीयतहमा नयाँ सरकार आएसँगै सिओसी कक्षाका सहभागिहरु सक्रिय बन्दै आएका छन् । विगतका दिनहरुमा वालविवाह, छाउपडी प्रथा लगायतका समाजमा रहेका विभिन्न कुरिति कुसंस्कार न्यूनीकरण गर्नतिर लागि परेका बालबालिकाहरु अहिले नयाँ जनप्रतिनिधि आइसकेपछि केही आशा पलाएको बताउने गर्छन् ।
जिल्लाको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा रहेका १ हजार बालबालिकाहरुले नयाँ जनप्रतिनिधिको आगमनसँगै समाजमा रहेका विभिन्न हिंसा न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग अपेक्षा गरेको रास्कोट नगरपालिकाकी सिओसी सहजकर्ता सुक्ला सिम्खाडाले बताइन्।
निवर्तमान जनप्रतिनिधिहरुले बालबालिकाको क्षेत्रमा खेलेको भूमिकालाई मध्यनजर गर्दै अब नयाँ जनप्रतिनिधिहरुले झन् महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा आफूहरुमा रहेको सिओसी सहजकर्ता बसन्ती विष्टले बताएकी छन् ।
१ हजार वालबालिकाहरुले विभिन्न परम्परागत हानिकारक अभ्यास न्यूनीकरणमा लाग्दै गर्दा अभिभावक, नागरिक समाज, मानवअधिकारकर्मी, स्थानीय तहका जनप्रतिनिधीलगायत अन्य नागरिकहरुको सहयोगमा विभिन्न कुरिति न्यूनीकरण भएको सान्नी त्रिवेणी गाउँपालिकाकी सिओसी सहजकर्ता आशा केसीले बताएकी छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा ३ स्थानीय तहमा विभिन्न कार्यक्रमहरु लागू भइरहेका छन् र यस अन्तर्गत बालविवाह, छिटो विवाह र जवरजस्ती विवाह न्यूनीकरणमा प्लान इन्टरनेशनल नेपालले विभिन्न क्रियाकलाप गर्दै आएको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताएका छन् ।
रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पहिलेको तुलनामा अहिले विभिन्न हिंसाहरुमा कमी भएको कार्यक्रम संयोजक शिवशंकर उपाध्यायले बताएका हुन् । उपाध्यायका अनुसार विद्यालय बाहिर रहेका वालवालिकाहरु सिओसी कक्षा संचालनपछि नियमित विद्यालय जाने गरेका छन् ।
बालवालिकाको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका कारण बालबालिकाको व्यक्तित्व विकाससँगै आफ्नो हक र अधिकारका विषयमा थाहा पाएको सिओसी कक्षामा आवद्ध बालबालिकाहरुले बताउने गरेका छन् । नयाँ सरकारसँगै नयाँ आशा बालवालिकाहरुमा पलाएको उनीहरुको भनाइ छ ।
रास्कोट नगरपालिका २ का सिओसी कक्षाका सदस्य मनिसा सिम्खाडाले पहिलेको तुलनामा अहिले बालबालिकाहरुको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन भएपछि बालबालिकाहरुलाई महत्वपूर्ण शिक्षा हासिल भएको बताएकी छन् ।
यस्तै, रास्कोट नगरपालिका २ की दर्पना लुवारले हिजोका दिनमा आफूहरुको बोल्ने कलादेखि लिएर व्यक्तित्व विकास समेत भएको बताउँदै आगामी दिनहरुमा बालबालिकाको क्षेत्रमा काम गर्ने बताएकी छन् ।
सिओसी कक्षामा आवद्ध एक हजार बालबालिकाहरु विभिन्न हिंसाहरुलगायत अन्य विकास निर्माणका काममा खबरदारी समेत गरिरहेका छन् । नयाँ सरकारसँगै हरेक विकास निर्माणका योजना छनौटदेखि लिएर विभिन्न कार्यक्रममा बालबालिकाहरुको अनिवार्य उपस्थितका लागि पनि कदम चालिरहेका छन् ।