काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आआफ्नो ठाउँबाट ठोस योगदान दिन अपिल गर्नुभएकाे छ।
अध्यक्ष नेपालले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०७९ को उपलक्षमा शुभकामना दिँदै हरेक परिवर्तनका सम्वाहक समूदायप्रति भइरहेकाे जातीय छुवाछुतकाे अन्त्यका लागि पहल गर्न अपिल गर्नुभएकाे हाे।
२०६८ सालमा जातीय छुवाछुट उन्मुलनकाे घाेषणा भएकाे बताउँदै अध्यक्ष नेपालले दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र होइन, सम्पूर्ण नेपालीको शीर उँचो बनाएको स्मरण गर्नुभएकाे छ।
पूर्वप्रधानमन्त्री नेपालले नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिक विभेद, जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरिएको तर हालसम्म पनि हाम्राे समाजका कतिपय ठाउँमा जातीय छुवाछुत कायमै रहेकाे बताउँदै यस्ताे अमानवीय कार्यकाे अन्त्य गर्नु पर्ने बताउनुभएकाे छ ।
नेपालले शुभकामना सन्देशमा छुवाछूतमुक्त राष्ट्र घोषणालाई अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न अझै नसकिएकाे र कानुनकै धज्जी उडाउने गरी भइरहेका जातीय छुवाछुत, भेदभाव र हत्याका घटनाले लज्जावाेध गराएकाे उल्लेख गरेका गर्नुभएकाे छ ।
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा शुभकामना सन्देश :
सर्वप्रथम जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०७९ को उपलक्षमा सम्पूर्ण उत्पीडित दलित समुदायका दाजुभाइ तथा दिदीबहिनीहरु सहित सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा १६ वर्ष अघि अर्थात २०६३ जेष्ठ २१ गतेका दिन पुनःस्र्थापित प्रतिनिधिसभामा मेरै नेतृत्वमा रहेको पार्टीका तर्फबाट प्रस्ताव पेश गर्दै मुलुकलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेका थियौं । सो घोषणालाई कार्यान्वयन गर्न जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ पारित भएलगतै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आएका छौं । त्यसैले आजको दिन हाम्रो मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिनका रुपमा लिनुपर्दछ । दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र होइन, सम्पूर्ण नेपालीको शीर उँचो बनाएको थियो ।
नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिक विभेद, जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरिएको छ । सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधकारूपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था छ । मौलिक हकमा सम्मानपूर्वक बाँचन पाउने हक, धारा १८ मा समानताको हक, धारा २४ मा जातीय छुवाछूत र भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ । यसका साथै, दलित समुदायको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको सशक्तिकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थासहित राष्ट्रिय दलित आयोगको गठनको सुनिश्चितता गरेको छ । तर छुवाछूतमुक्त राष्ट्र घोषणालाई हामीले अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं । नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौति दिंदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छ ।
अन्त्यमा, आजको दिनले नेपाली समाजलाई सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रुपमा मुक्ति दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूत जस्तो असामाजिक, अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई हार्दिक अपिल गर्दछु । साथै, हाम्रो पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई यस अमानवीय प्रथाका विरुद्ध आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न र दृढतापूर्वक उभिन पनि आव्हान गर्दछु । धन्यवाद ।