अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् ।
५ दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।
यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन हुनुभएको छ । पाणिनी–५ मैदान निवासी कोईराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहनुभएको छ ।
यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव(१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट एमाले राजनीतिमा प्रवेश गर्नुभएको हो ।
यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी–७ का कमल घिमिरे , भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ ।
महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी–४,डालकुमारी भण्डारी, शितगंगा–१०,सीता आचार्य, मालारानी–१ चयन हुनुभएको छ । दलित÷अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन हुनुभएको छ ।
जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो ।
समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ,नेपाली कांग्रेसको दुई , राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ ।
कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरिएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ । निर्वाचन कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ ।