लमजुङ । विश्व वातावरण दिवसको अवसर पारेर जन्मदिनमा वृक्षरोपण अभियान नेपालले 'एक पालिका, एक नर्सरी'को अवधारणा अनुरुप पहिलो नर्सरी शुभारम्भ गरेको छ । लमजुङको बेसीशहर नगरपालिकाका २ भकुण्डेमा नर्सरी स्थापना गरिएको हाे ।
वेलपत्रको पवित्र विरुवाको पूजा गरेर त्यही विरुवा रोपण गरेर नर्सरीको उद्घाटन गरिएको हो । वृक्षरोपण गर्दै बेसीशहर नगरपालिका २ का वडा अध्यक्ष मदन रानाले प्रकृतिको संरक्षण गर्न वातावरण हराभरा बनाउन र नेपाली नागरिकको जीवनस्तर उठाउन अभियानले लिएको अवधारणा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
देशभरका सबै पालिकामा एक पालिका एक नर्सरी बनाउने अभियानको योजनामा सबै स्थानीय सरकारको सहयोग रहनुपर्ने यसले राष्ट्रलाई आत्मनिर्भर बनाउन ठुलो भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।
जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं अध्यक्ष बासुदेव सेढाईले अभियानलाई देशको आर्थिक समृद्धिसँग जोडेर अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।
विरुवा रोपेर जन्मदिन मनाउने प्रचलनलाई मानव जातिको मौलिक संस्कारको रुपमा स्थापित गर्ने, विदेशिएका लाखौँलाख युवालाई स्वदेश फर्काउने र बाँझो जमिनको सदुपयोग गरी मुलुकमा उत्पादनमा वृद्धि गर्ने, हरेक नागरिकलाई श्रम र उत्पादनसँग जोड्ने, प्रत्येक नागरिकलाई नैतिक चरित्रवान बनाउने सभ्य समाज र सभ्य समृद्ध मुलुक निर्माण गर्ने योजना अभियानले बनाएको जानकारीका साथै अभियानका गतिविधिका बारेमा जानकारी दिनुभयो ।
नर्सरी शुभारम्भ कार्यक्रममा वडा सदस्य रिता अधिकारी लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापा, अभियानका कोषाध्यक्ष रामजी बसौला, अभियानका सदस्य एवं नर्सरीका व्यावस्थापक भेषनिधी पाण्डे, प्रेम थापा, विष्णु कँडेल, बुद्धी धिताल, तीर्थ कँडेल, कल्पना पाण्डे लगायत अभियानका अभियन्ताहरुको उपस्थिति रहेकाे थियाे ।