काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताएका छन् । आइतबार विराटनगरमा पत्रकारहरूसँग अध्यक्ष थापाले राप्रपासँग सहकार्य गर्ने संकेत दिएका हुन् ।
कांग्रेस, एमाले, माओवादीसँग त सहकार्य गर्न सक्छौं भने राप्रपासँग किन सहकार्य गर्न नसक्ने भन्दै उनले राप्रपालाई सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गरिनुपर्ने शर्त राखेका छन् । डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको अनुभवमा अब नेपालमा राजसंस्था फर्कन सक्ने अवस्था नरहेको थापाले दाबी गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाप्रति लक्षित गर्दै इतिहास बनेको राजसंस्था पुनः स्थापनाको एजेन्डा बोकेर नहिँड्न सुझाव दिए । अब राजसंस्था पुनः स्थापना हुने सम्भावना शून्यमा पुगेकाले त्यस्ता एजेन्डालाई बोकेर हिँडनुको कुनै अर्थसमेत नरहेको थापाको भनाइ थियो । थापाले भने, ‘राजसंस्थाको एजेन्डा छाडेर आए कार्यगत एकताका लागि राप्रपा नेपाल सधैँ तयार छ ।’
संघीयतासम्बन्धी प्रसंगमा उनले प्रदेश सरकारको औचित्य नरहेको दोर्होयाए । केन्द्र र स्थानीय सरकार अझ शक्तिशाली बनाएर लगेमा प्रदेश तहको आवश्यकता नरहेको थापाको भनाइ छ । उनले भने, ‘अहिले देशमा देखा पारेको समस्या मध्ये एक समस्या संरचनागत त्रुटि हो । संरचनागत सुधारका लागि संघीयताको वर्तमान परिवर्तनलाई सुधार गरी केन्द्रमा एउटा बलिया सरकार र स्थानीय सरकार कायम गर्न उपयुक्त हुन्छ । बीचको प्रदेश सरकार वा प्रदेश तहको संरचनाको आवश्यकता छैन ।’
प्रजातन्त्र स्थापनासँगै मुलुक देशी विदेशी शक्तिको क्रियास्थाल बनेको भन्दै यस विषयमा राज्य संवेदनशील नभएर दुर्घटना निम्तिन सक्ने उनले दाबी गरे । असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन भन्दै उनले अहिले हिन्दु, बौद्ध र किराँत धर्मप्रति संगठित रुपमा आतङ्क सिर्जना गरिएको र यो रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा औंल्याए । धार्मिक द्वन्द्व रोक्न पनि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने उनको तर्क छ ।