चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ ।
माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।
पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।
तत्कालिन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा विरगती प्राप्त गरेका थिए ।
विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए ।
१५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।
मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।
घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्ने भन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउँछिन् । घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन् । तर छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन् ।
‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेको छ ।’
उनको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन् । उनका तीन छोरी, एक छोरा र श्रीमान छन् । बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन् । उनी कक्षा ११ मा पढ्दै छिन् ।
अर्का दुई छोरी १८ वर्ष नाघिसके । स्नातक तहमा पढ्छन् । १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उनले बताइन् ।
घरमा कमाउने मान्छे कोही नभएको भन्दै उनले ठूलो कक्षामा पढ्न थालेका छोरीहरुको पढाई खर्च जुटाउन समस्या भएको बताइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले पीडितलाई सँधै झुटो आश्वासन दिएर भोट माग्ने गरेको उनी बताउँछिन् ।
औषधिमा महिनामा दुई देखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उनले बताइन् । घटनाले मानसिक रुपमा कमजोर बनेकी छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।
बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउँछन् । उनी आफै पनि बम विस्फोटमा परेर घाइते भएका छन् । काम विशेषले भरतपुर आउँदै गरेका उनी चढेको बस पौने ८ बजे बम विस्फोटमा परेको थियो ।
बम विस्फोटको घटनामा परेर घाइते भएका उनको मेरुदण्ड र देव्रे खुट्टा भाँचिएको थियो । खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उनी बताउँछन् । उनीजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ । राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिए पीडितलाई धेरै राहत हुने उनको भनाइ छ ।
बम विस्फोटको घटनामा परेका घाइतेहरु एकोहोरिएर टोलाउने र मानसिक रुपमा पनि कमजोर भएको उनी बताउँछन् । घाइते जीवन लिएर बाँचेकामा पीडितमा हिनताबोध हुन थालेको उनी बताउँछन् ।
२०७४ को निर्वाचनमा केहि पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधी उपचार व्यवस्था गर्ने भनेर माओवादी अध्यक्ष दाहालले आश्वासन दिए पनि त्यो अझै पुरा नभएको उनले बताए ।