काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टी अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेपछि उत्पन्न विवादप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
भुसालले एक टेलिभिजन अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको ‘म’वादका कारण स्थानीय चुनावमा पराजय व्यहोर्नुपरेको बताएका थिए । भुसालको भनाइ पार्टीको मर्मविपरीत भएको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । रावल र भुसाल एकै समूहका हुन् । उनीहरु दुबै जना माधव नेपाललाई छोडेर एमालेमै बसेको १० भाईभित्र पर्ने सदस्य हुन् ।
भुसालको ओलीको राजीनामा पनि माग गरेका थिए । पार्टीभित्र बढ्दो विवादबारे प्रतिक्रिया दिँदै उनले भने, ‛विगतको संस्थागतरुपमै समीक्षा गरौं, नत्र आगामी चुनावमा झन् ठूलो पराजय भोग्न बाध्य हुनेछौं ।’
कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गर्नुपर्नेमा समेत रावलको जोड छ । उनले भने, ‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ । कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’
यसअघि योगेश भट्टराईले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । सचिव भट्टराईले भनेका थिए, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा र्पुयाउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध ?’
नेता रावलले अर्को प्रसंगमा भाग पुर्याउन पालैपालो मन्त्री बनाउनु घातक भएको टिप्पणी गरेका छन् । नेकपा एसले भाग पुर्याउन ६ महिनामै मन्त्री फेर्न लागेकोबारे उनले भने, ‛अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो । देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ ।’