काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् ।
मन्त्रीमण्डलको हेरफेरको तयारी आजै गरिएको छ । सत्ता साझेदार दल एकीकृत समाजवादीले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस आइतबार नै गरिसकेको छ ।
सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । आज दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ, हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।
नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर उनीहरुको नाम सिफारिस गरेको थियो ।
स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ । पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ । बहालवाला राज्यमन्त्री खापुङको भने सोही मन्त्रालयमा बढुवा भएको हो । उनी यसअघि स्वस्थ्य राज्यमन्त्री थिए ।
नेकपा एसले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।