काठमाडौं । बलात्कारसम्बन्धी मुद्दाको हदम्याद हटाउन सरकारकाले विधेयक पेस गरेका बेला सदनमा महिला सांसदले नै यसको विरोध गरेकी छन् । एमाले सांसद गंगा चौधरी सतगौंवाले सोमबार प्रतिनिधिसभामा सो विधेकयमाथिको छलफलमा मन मिलुन्जेल प्रेम सम्बन्ध र मन नमिलेपछि बलात्कारका मुद्दा लगाउने प्रवृति बढेको दाबी गरिन् ।
पूर्वसभामुख कृष्णबहादुर महरा र नायक पल शाह प्रकरणको उदाहरण दिंदै उनले हदम्याद नराखे मन मिलेसम्म ‘लभ’ भन्ने र मन नमिलेपछि ‘बलात्कार’ भन्ने प्रवृत्ति बढ्ने बताइन् । उनले भनिन्, ‘यसभन्दा पहिले पनि सम्मानित सदनमा बसेका पूर्वसभामुखको घटना पनि हामीले हेरेका छौं । जबसम्म स्वार्थ मिल्यो केही कसैलाई पत्तो थिएन । जब स्वार्थ मिलेन त्यो ठाउँमा बलात्कारको संज्ञा दिएर उहाँलाई ६-६ महिनासम्म जेलमा कोचियो । यो कुरा हामीले भुल्नु हुँदैन ।’
पूर्व सभामुख महरा सभामुख रहेकै बेला संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । उक्त आरोपका कारण महरा ६ महिनासम्म जेल बसेका थिए । तर, पनि उनले अदालतबाट सफाइ पाएका थिए । पछिल्लो समय आएका घटनाहरु पनि उल्लेख गर्दै उनले हदम्यादको आवश्यकतामा जोड दिइन् । उनले भनिन् ‘पल शाहको कुरा आयो । जबसम्म मन मिल्यो तबसम्म लभको संज्ञा दिने । आफ्नो स्वार्थ पूरा भएन भने बलात्कारको संज्ञा दिने ? यदि हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्छ । अनि न्याय कसरी पाउँछन् ? यो दृष्टिकोणबाट पनि हामीले हेर्न जरुरी छ ।’
महिला भएर महिलाको विरोध गरेको भनेर आफूलाई नभन्न पनि उनको आग्रह छ । उनले भनिन् ‘मलाई महिला हो महिलाको विरुद्धमा बोल्यो नभन्नुस् । म एउटा सांसद हुँ, देशको लागि कानुन निर्माण गर्न आएका छौं । यो कुरा बुझ्नुपर्छ, यो हेक्काका साथ मैले कुरा राखिराखेको छु ।’
महिला हो भन्दैमा महिलाको भावनामात्र बुझ्ने नभएर पुरुषको भावना पनि बुझेर सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने उनको धारणा थियो । सांसद सत्गौवाले कानुन जति कठोर बनाएपनि कार्यान्वयन हुने ठाउँ फितलो भएपछि समस्या हुने बताइन् ।
सांसदले पुरुषका लागि पनि बोल्नुपर्ने सांसद सत्गौवाको भनाइ थियो । उनले पुरुषहरू पनि पीडित भएकाले कानुनले त्यस पक्षमा बोल्नुपर्ने बताइन् । उनले भनिन, ‛विदेशमा रहेका पुरुष या महिला हेर्नुहुन्छ भने पुरुषको पीडा कसले बोल्ने ? पुरुषको पक्षमा पनि कानुन संशोधन गर्नुपर्छ । पुरुष पनि पीडित छन् भन्ने कुरा भुल्नु हुँदैन । पुरुषको पीडाको लागि पनि कानुन बोल्नुपर्छ । कुन कुन अवस्थाका लागि हदम्याद राख्नुपर्छ भन्ने ख्याल गर्नुपर्छ ।’