काठमाडौं । १६ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा बाँकेमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् ।
१७ वर्षीय हेमराज थारुको पीडित किशोरीसँग चिनजान र प्रेम सम्बन्ध थियो । उनले आफ्नो जन्मदिन मनाउन भन्दै किशोरीलाई भेट्न बोलाएका थिए । बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा भेट्न आएकी किशोरीलाई हेमराज लगायत उनका अन्य ६ जना साथीहरुले शनिबार राति सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
किशोरीलाई मदिरा खुवाई शुरुमा मानखोलाको जंगल र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । फेसबुकमार्फत चिनजान भएर किशोरी प्रेमिका बनेकी थिइन् । प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति बैजनाथ गाउँपालिका-८ निवासी प्रेमी भनिएका हेमराज थारुसहित पाँच जनाले पालैपालो बलात्कार गरे ।
सामूहिक बलात्कारमा संलग्न पाँचजना र घटनामा सहयोगी भूमिका निर्वाह गरेका दुई जनासहित सात जनालाई प्रहरीले आइतबार पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका विरुद्ध जवरजस्ती करणी विरुद्धको मुद्दा दायर गरी अनुसन्धान गरिएको बाँकेका जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
डीएसपी न्यौपानेका अनुसार कथित प्रेमी भनिएका चौधरी, विक्रान्त थारु, निराजन थारु, प्रवीण थारु र राजकुमार थारु बलात्कार अभियोगमा पक्राउ परेका छन् भने विश्वनाथ थारु र निर्देश थारूलाई घटनामा सहयोगीको भूमिका निर्वाह गरेको अभियोगमा पक्राउ गरिएको हो ।
प्रेमीले बोलाएपछि बस चढेर आएकी उनलाई पहिला चौधरीले आफूसहित अन्य चार जना साथीलाई लिएर बढैया ताल घुमाउन लगेका थिए । त्यहाँबाट फर्केर मनाखोलाको फुलवारीमा आई मदिरा सेवनसहित बर्थे डे मनाउन सुरु गरेका उनीहरुले ती किशोरीलाई पनि मदिरा पिउन बाध्य पारेको बताइएको छ ।
मदिरा पिउँदै जाँदा किशोरी लठ्ठ परेपछि प्रेमी चौधरीसहित पाँच जनाले पालैपालो बलात्कार गरेको प्रहरीको दाबी छ । सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा चढाएर बैजनाथको विपरी भन्ने स्थानमा रहेको विक्रम थारुको गोठमा लगेर उनीहरुले सुताएका थिए । केही बेरपछि होस खुलेकी उनलाई फेरि निराजन र विक्रान्तले बलात्कार गरेका थिए ।
तत्पश्चात अर्धचेत बनेकी उनलाई मोटरसाइकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गरेको थियो । प्रहरीसमक्ष किशोरीले बलात्कारबारे बताएपछि तत्कालै तीन जना र क्रमशः अन्यलाई ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
मदिरामा बेहोस भएकी ति किशोरीलाई दुई जना युवाले मोटरसाइकलको बिचमा राखी घर छोडिदिन हिँडेका थिए। भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक प्रहरीले उनीहरुलाई रोकेको थियो ।
शंका लागेर उनीहरु तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । होस खुलेपछि युवतीले आफूमाथि भएको घटनाबारे बताएकी थिइन् । आइतबार विहान प्रहरीले उनीहरुको खोजतलास गरी विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डीएसपी मधुसुदन न्यौपानेले बताए ।