-भूपाल बिष्ट / जनता समाचार
काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरे पनि धेरै समय टिक्न सकेन । आइतबारमात्र निर्णय गरेर मन्त्रीहरु फिर्ता बोलाउने र पठाउनेको नाम बाहिर आइसकेको थियो ।
सोमबार सपथ हुने भनेर सबैतीर समाचार आयो । तर सपथ गराउनको निम्ति शितल निवासमा नयाँ मन्त्रीहरुको नाम नै पुगेन । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटे । माधव नेपाल अन्तिम समयसम्म पनि आफूले मन्त्री परिवर्तन गर्न पाउनुपर्ने अडानमै रहे पनि प्रचण्ड र देउवाले ‛कन्भिन्स’ गरेको बुझिएको छ ।
बजेटमाथि छलफल चलेको बेला किन निकालियो फन्डा ?
अहिले प्रतिनिधिसभामा सांसदहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिइरहेका छन् । तर पार्टी अध्यक्ष माधवकुमार नेपालले यस्तो समयलाई किन नजरअन्दाज गरे भन्ने विषयले अहिले चर्चा पाएको छ ।
मन्त्रीमा नयाँ अनुहारले डेब्यू गर्नु पनि कुनै नौलो कुरा भएन । अनि पुरानैले कार्यकाल पुरै चलाउनु पनि ठुलो कुरा हुँदै होइन । तर अहिले मन्त्रालयगत छलफल संघीय संसदको प्रतिनिधिसभामा जारी भएकै बेला नेपालले किन यस्तो कदम चाले सबैलार्ई आश्चर्यमा पारेको छ । माधवले ठाडो निर्देशन दिएर भएकालाई बोलाएर अन्यलाई नियुक्ति गर्ने योजना बनाएका थिए । तर उनको योजना तत्कालका लागि अधुरै रह्यो । यसलाई राजनीतिक दलभन्दा व्यक्ति हाबी भएको अर्थमा समेत बुझ्न थालिएको छ ।
नयाँ मन्त्री नियुक्ति रोक्ने महत्त्वपूर्ण पात्र उपेन्द्र यादव
नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेसँगै जसपामा पनि मन्त्री हेरफेरका लागि ठूलो दबाब परेको थियो । त्यसका लागि जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका सांसदहरूको आइतबारदेखि छुट्टाछुट्टै छलफल गरिरहेका थिए । सोमबार पनि उनीहरूको छुट्टै बैठक बसेको थियो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादव भने मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने बारेमा पार्टीमा छलफल गरेर मात्र निर्णय लिने भन्दै पन्छिँदै आएका थिए । पार्टीमा स्थानीय चुनावका समीक्षा हुन बाँकी रहेको भन्दै उपेन्द्रले बहाना बनाइरहेका थिए । समीक्षाका लागि बस्ने बैठकमा मन्त्री हेरफेरको विषयमा समेत छलफल गर्ने जवाफ उनले दिँदै आएका थिए । यद्यपि सरकारमा जान चाहने सांसदहरूको दबाब कायमै थियो ।
मन्त्रिपरिषद हेरफेर तत्कालका लागि स्थगित भएसँगै जसपामा त्यो खतरा केही समयका लागि टरेको छ । तर मन्त्री फेर्नुपर्ने माग जसपाभित्र सेलाएको भने छैन । सुरुमा मन्त्री पठाउँदा ६ महिनाका लागि पठाइएको र ६ महिनापछि उनीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय पार्टीमै भएको भन्दै जसपाका कतिपय सांसदले मन्त्रीहरुलाई फिर्ता बोलाउन दबाब दिइरहेका छन् ।
झलनाथ प्रधानमन्त्रीसँग असन्तुष्ट
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भने प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बने । झलनाथले राजनीतिक दल सबैभन्दा माथि हुने भन्दै प्रधानमन्त्रीले पार्टीको निर्णय हुबहु कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै आएका छन् ।
झलनाथले मन्त्री पार्टीको निर्देशन अनुसार चल्नु पर्ने बताउँदै आएका छन् । अहिले मन्त्री भएकाहरुले पार्टीको निर्णय नमाने पार्टी छाड्न सक्ने समेत झलनाथले चेतावनी दिएका छन् । पार्टीले फिर्ता बोलाएपछि उनीहरुले बार्गेनिङ गरेर मन्त्री भइरहनु नैतिकताहिन कुरा हुने झलनाथ दाबी गर्छन ।
प्रधानमन्त्री पार्टीभन्दा माथि रहे सरकार छाड्ने समेतको धम्की झलनाथले दिइसकेका छन् । झलनाथले तत्कालका लागि सपथ रोकिँदा सबैभन्दा आक्रोसित हुने नेतामा पर्छन ।
प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय पार्टीको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताए । खनालले भने, ‛कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखांै सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।’
पार्टीभन्दा मन्त्री पावरफूल भएका हुन ?
बजेट अधिवेशनअन्तर्गत मन्त्रालयगत छलफल चलिरहेकाले त्यसअघि पुनर्गठन गर्न नमिल्ने भन्दै हाललाई मन्त्रिमण्डल हेरफेर रोकिएको हो । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले शनिबार नै सरकारमा सहभागी नेताहरूलाई फिर्ता बोलाएर नयाँ नेताहरू पठाउने निर्णय गरेको थियो ।
सो निर्णय आइतबार बसेको बैठकपछि सार्वजनिक भएको थियो । त्यसलगत्तै हटाइएका सूचीमा रहेका मन्त्रीहरूले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटघाट गरी मन्त्रिपरिषद पुनर्गठन रोक्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले पनि तत्कालका लागि मन्त्रीबाट हटाउन नसक्ने सन्देश माधवलाई दिए । माधव झस्किए र चुपचाप निर्णयलाई मान्न तयार भए ।
बहालवाला मन्त्रीले के भने ?
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नै पार्टीका केही नेताहरूले आफ्नो बदनाम गर्न खोजेको बताएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मंगलरबार मन्त्री आलेले पार्टीका केही नेताहरूले अन्तर्वार्ता दिएर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।
उनले आफू मन्त्री छाड्न तयार रहेको पनि स्पष्ट पारे । आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’
मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए । अरुलाई मौका दिँदा आफू खुसी हुने बारेमा अध्यक्ष माधव नेपाललाई जानकारी गराइसकेको उनले बताए ।
श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले भने तत्काल एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् । उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए । अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा अहिले आफ्नो जिम्मेवारीमा यथावत् रहन भनेको श्रेष्ठले जानकारी दिए ।
मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो । अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् । मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राए बमोजिम नै काम गर्ने बताए ।
यसैबीच पार्टी निर्णय नमान्ने चेतावनी दिएको भनेर आफूविरुद्ध सामाजिक सञ्जाल र केही अनलाइनले अनर्गल प्रचार गरेको उनले बताएका छन् । आफूविरुद्ध झूट, कपोलकल्पित र भ्रामक समाचारको अभियान चलाइएको भन्दै भ्रममा नपर्न उनले अपिल गरे ।
एकीकृत समाजवादीका नेतासमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्री परिवर्तन गर्ने निर्णयबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका थिए । अहिले उनै खतिवडाले मन्त्री परिवर्तन गर्ने खेल समाप्त भइसकेकाले यस्तो भ्रमको पछाडि लाग्न नहुने बताएका छन् ।