काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् । प्रेस मञ्च धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई बञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् । उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सहजरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे ।
मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले माग गरे । यादवले वर्तमान संसदीय निर्वाचन क्षेत्र अनुसार मधेसको जनसंख्या राष्ट्रिय जनगणना अनुसार ५३ प्रतिशत वृद्धि भएकोले निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न माग गरेका हुन् । यादवले भने, 'विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’
अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपूर्ण रहेको समेत बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको र गलत प्रणाली तथा लामो प्रक्रियाका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताए । उनले विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र त्यसमा जातीवाद, पावर केहीको गुनजायस नरहेको भन्दै नेपाल जस्तो गरिब मुलुकमा विकृति मुलक र महंगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जाने बताए ।
उनले वर्तमान पाँच दलीय गठबन्धनबाट नै प्रदेश र संघीय निर्वाचनमा जाने भएकाले गठबन्धन कायमै रहने अध्यक्ष यादवले बताए । उनले गठबन्धनमा कहिले कहीँ कुनै दललाई घाटा पनि सहनु परेकाले पाँच दलीय गठबन्धन बन्ने बित्तिकै लोकतन्त्रमा रहेको संकट हट्दै गएको, लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको दावी समेत गरे ।
उनले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता औंल्याए ।