काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनाव र त्यस पछिसम्म लैजान चाहेको बताएका छन् । बुधबार पार्टी निकट विद्यार्थी संगठनको काठमाडौमा भएको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको भविष्य छैन भनेर अनेकौं कू प्रचारहरु भइरहेपनि त्यस्ता कू प्रचारका पछि लाग्न जरुरी नरहेको बताए ।
उनले गठबन्धन भत्कियोस् र आपसी असमझदारी बनोस् भन्ने प्रयासहरु भए पनि आफूहरु कमजोरी सच्याउँदै तथ्य र तर्कमा अघि बढ्न सक्नुपर्ने बताए । पार्टीले अघि सारेको क्रान्तिकारी राजनीतिको बाटो इमानदारिता, समाजसेवा र समाज रुपान्तरणको बाटो भएकाले त्यसबाट विचलन नहुन विद्यार्थीहरुलाई निर्देशन पनि दिए । उनले भने, ‘त्यस्ता कू प्रचारका पछि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहान्छौँ ।’
अध्यक्ष नेपालले आफूहरु पनि प्रतिगमनको मतियार भएको भए देशको विनाश हुनसक्ने भएकाले गठबन्धन बनाएर अघि बढ्नुपरेको बताए । उनले आगामी निर्वाचनमा पनि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अहिलेबाटै लाग्नुपर्ने भन्दै अहिलेसम्म आफ्नो पार्टीबाट मन्त्री बनेर राम्रो काम गरेकाहरूलाई धन्यवाद समेत दिए ।
नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू ‘फेरबदल’को पार्टी निर्णयमा सन्तुष्ट रहेको समेत बताएका छन् । उनले भने, ‘हामीले मन्त्रीहरूको फेरबदल गरेका छौँ । ६ महिनाको अवधि हामीलाई दिइएको थियो भनेर मन्त्रीहरूले नै भनेका छन् । उनीहरूलाई धन्यवाद छ । पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’
तर मिडियामा केही तलमाथि आए पनि त्यसमा सत्यता नभएको उनले बताए । उनले भने, ‘मिडियाले जेजे सोध्यो हाम्रा महासचिवले त्यै–त्यै भन्दिएछन् । मानेन भने के गर्ने ? भनेर भन्दिएछन्, बिग्रिएछ । केही कुराको उत्तर नदिए नि हुन्छ ।’
मन्त्रीहरूले त्यत्तिकै आशंका गर्ने भनेर चित्त दुखाएको उनको आशय थियो । उनले भने, ‘त्यत्तिकै आशंका गरे सबैको चित्त दुख्छ । सबै इमानदार हुनुहुन्छ । पार्टीको आदेश पालन गर्नुहुन्छ ।’
पार्टी निर्णय कार्यान्वयनको विषयमा अध्यक्ष नेपालले अर्को पार्टीतर्फ इशारा गर्दै आफ्ना मन्त्रीको बचाउ गरे । उनले भने, ‘निर्णय किन लागु भइरहेको छैन भन्ने होला । अर्को पार्टीमा पनि भुईँचालो गएकोले होला ।’
नेपालले विद्यार्थीको पहिलो काम पढ्नेमै केन्द्रित हुनुपर्ने बताएका छन् । पढेको विद्यार्थी नै असल राजनीतिज्ञ बन्ने उनले बताए । पढाइ र राजनीतिलाई कसरी मिलाउने भन्ने कुरामा विद्यार्थीहरुले नै ध्यान दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‛विद्यार्थीको पहिलो काम पढ्ने नै हो । विद्यार्थीले औपचारिक र अनौपचारिक ढंगबाट पढ्नुपर्छ ।’
नेकपा एसनिकट विद्यार्थी विशेष जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अगाडि भने, ‘कोर्सको किताब र राजनीतिक किताबमा कसरी तालमेल मिलाउने रु त्यो तपाईँले मिलाउनुपर्छ । पढाइमा पनि उत्कृष्ट हुने । राजनीतिमा पनि उत्कृष्ट हुने । यस्तो कसरी मिलाउने तपाईँले ध्यान दिनुपर्ने छन् ।’