काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजेन्डा राप्रपाले छाडे पार्टी एकता हुने बताएका छन् । बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा थापाले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना असम्भव रहेको भन्दै लिङ्देन नेतृत्वको पार्टीले सो एजेन्डा छाडे पार्टी एकता गरेर आफूले नेतृत्व समेत हस्तान्तरण गर्ने उनले बताए ।
राजनीतिमा पार्टीका एजेन्डा समय क्रमसँगै परिर्वतन हुँदै जाने बताउँदै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना सही नभएको धारणा राखे । उनले भने, ‘असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेका हौं । यदि यो राजतन्त्र पुनर्स्थापनाको एजेन्डा लिङ्देनले छाडे म पार्टी उहाँलाई बुझाइदिन तयार छु ।’
उनले हिन्दु राज्य र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने समेत बताए । बहुमत जनता अहिले पनि हिन्दु राज्यको पक्षमा रहेको भन्दै उनले यो विषयमा जनमत संग्रह गर्नुपर्ने बताए । साथै थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने राप्रपा नेपालको एजेन्डा रहेको बताए ।
राप्रपा नेपालले पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको पुन:स्थापनालाई मुख्य एजेन्डा बनाएको बताउँदै उनले सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्णस्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए । नेपालमा धर्म निरपेक्षता वा हिन्दू राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनुपर्ने थापाको तर्क छ ।
नेता थापाले जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री र पूर्णसमानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने र वर्तमान संघीय स्वरूपलाई परिमार्जन गरेर केन्द्र र स्थानीय तह गरी दुई तह मात्र कायम गर्नु उपयुक्त रहेको सुझाएका छन् । आफूले पार्टी छाड्नुको कारणबारे बेलिविस्तार लगाउँदै थापाले पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएपछि पार्टीलाई पुनर्जागरण गर्दै अलग भएको बताए ।
थापाले सरकारको गलत नीति र अकर्मण्यताको कारण देशमा तीव्र गतिले महँगी बढेको बताए । पेट्रोलियम पदार्थ, ग्याँसमा सरकारले अनावश्यक कर लगाउँदा अत्यधिक मूल्यवृद्धि भएको भन्दै सरकारले पेट्रोलियम पदार्थ र ग्याँसमा लगाउँदै आएको कर घटाएर जनतालाई राहत दिनुपर्ने उनको भनाइ थियो ।