काठमाडौं । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस मत र सिट दुवैमा पहिलो भएको निष्कर्ष निकालिएको छ । कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा मुख्य प्राप्ति र निष्कर्ष समेटिएको छ ।
उपसमितिका केन्द्रीय सदस्य तथा संयोजक प्रदीप पौडेलले सभापति शेरबहादुर देउवा र उपसभापति तथा स्थानीय तह केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक पुर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रुपमा प्रतिवेदन बुझाएका हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७५२ मध्ये ३२९ पालिका, १६६५ वडामा जित हासिल गरेको छ ।
विजयी भएका पालिकाका अध्यक्षमा १८८ र प्रमुखमा १४१ जना विजयी भएका छन् । जुन कुल स्थानको करिब ४४ प्रतिशत हुन आउछ त्यस्तै, उपप्रमुख पदमा कांग्रेसले ३०० स्थानमा विजयी हासिल गरेकोमा १९० उपाध्यक्ष र ११० उपप्रमुखले विजयी भएका छन् । जुन कुल स्थानको ४० प्रतिशत हुन्छ ।
प्रतिवेदन अनुसार वडामा देशभरमा कांग्रेसले ३८ लाख ८३ हजार १३८ मत प्राप्त गरेको छ । त्यस्तै, प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो स्थानमा छ । प्रतिवेदन अनुसार ७५३ स्थानीय तह मध्ये ३२४ पालिकामा गठबन्धन भएको हो । कांग्रेसले गठबन्धनसहित २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।
सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यस पटक मत र पद दुबैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ । ७४ मा जितेको २६६ पालिका मध्ये यस पटक १४० मा कांग्रेसको नेतृत्व दोहोरिएको छ ।
विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले गुमाएको छ । यस्तै उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ । यस्तै ७५३ स्थानीय तहमध्ये ३२४ पालिकामा गठबन्धन भएका प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले गठबन्धन साथमा २०९ मा उम्मेदवारी दिएकोमा १२८ पालिका प्रमुख जितेको छ ।