काठमाडाैं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष प्रेमल कुमार खनालले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को ११०औं अन्तराष्ट्रिय श्रम सम्मेलनमा सम्बाेधन गर्नुभएको छ ।
नेपालका १० वटा मान्यता प्राप्त ट्रेड युनियनहरुको साझा संयन्त्र (जेटियुसीसी) का अध्यक्ष खनालले नेपाली श्रमिकको प्रतिनिधिको हैसियतले सम्मेलनमा सम्बाेधन गर्नुभएकाे हाे ।
जेटियुसीसीका महासचिव नवराज दाहालद्वारा जारी विज्ञप्ति अनुसार श्रमिककाे हितमा ठाेस छलफल गरी निष्कर्ष निकाल्नका लागि अध्यक्ष खनालले सम्बाेधनमार्फत ६ बुँदे सुझावसमेत पेश गर्नुभएकाे छ ।
श्रमिकहरुको न्यून तलब, सामाजिक सुरक्षाविहीन अवस्था र उपभोग्य बस्तुहरुको बढदो महँगीले गर्दा श्रमिकहरुको जीवन यापन चुनौतीपूर्ण अवस्थामा रहेकाे बताउँदै अध्यक्ष खनालले यस्ता काममा संलग्न श्रमिकहरु गरिबीको रेखा भन्दा माथि उठन नसक्ने अवस्थामा रहेकाे प्रष्ट पार्नुभएकाे छ।
अध्यक्ष खनालले गर्नुभएकाे सम्बाेधनकाे पूर्णपाठ :
अन्तराष्ट्रिय श्रम संघठन (आइएलओ) को ११० औ अन्तराष्ट्रिय श्रम सम्मेलनमा हामी सहभागी भई रहेका छौ । यतिबेला विश्व व्यापी रुपमा श्रमिकहरुको जीवन कष्टकर अवस्थामा छ। अस्थायी, करार, आउट सोर्सिङमा काममा लगाउने परिपाटीले श्रमिकको रोजगारी त्यसै पनि असुरक्षित थियो, अर्कोतिर कोभिड महामारीको कारण यही निहुँ बनाएर लाखौं श्रमिकहरु रोजगारी कटौतीमा परेका छन। श्रमिकहरुको न्यून तलब, सामाजिक सुरक्षा विहीन अवस्था र उपभोग्य बस्तुहरुको बढदो महंगीले गर्दा श्रमिकहरुको जीवन यापन चुनौतीपूर्ण अवस्थामा छ, यसले गर्दा काममा संलग्न श्रमिकहरु गरिबीको रेखा भन्दा माथि उठन नसक्ने अवस्थामा रहेका छन्।
श्रम क्षेत्रमा अनौपचारिक श्रम अभ्यास बढदो मात्रामा छ। यसले गर्दा श्रमिक वर्ग झन शोषणको मारमा परेका छन् । आइएलओबाट पारित अभिसन्धीहरु– संगठन गर्ने र सामुहिक सौदाबाजी गर्ने अधिकार र श्रमिक सम्बन्धि अन्य अधिकार सम्बन्धी अभिसन्धीहरु अनुमोदन गरेर श्रमिकको अधिकार अझै प्रत्याभूत हुन सकेको छैन। संविधानमा श्रमिकका अधिकार सुनिश्चित भए पनि श्रम कानुनहरु प्रभावकारी रुपमा लागू हुन सकेको छैन।
कृषि ,उधोग जस्तो उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने आर्थिक नीतिको अभावमा भयावह अवस्थामा गरिबी र बेरोजगारी बढदै गएको छ। रोजगारीका क्षेत्रमा मर्यादित कामको सुनिश्चितता हुन सकेको छैन।
विश्व बढी रहेको युद्व,द्वन्द्व र नाकाबन्दीले मानव जीवन झन कष्टकर बन्दै छ। यसले उत्पादन ,रोजगारी र आपूर्ति वितरण ,मूल्य बृद्वि , खाध्यान्न संकट र भोकमरीको समस्या बढदै गएको छ।
युद्ध र द्वन्द्वका कारण मातृभूमि छोडन वाध्य भएका शरणार्थी संगै बढदो कामको खोजीमा विदेशीएका आप्रवासीश्रमिकहरुको समस्या झन कष्टकर बनेको छ । माथि उल्लेखित परिस्थितिमा आइएलओ को यो
११० औँ अन्तराष्ट्रिय श्रम सम्मेलनले श्रमिकको हितमा ठोस छलफल गरी निष्कर्ष निकाल्नु पर्दछ भनी सुझाव प्रस्तुत गरिएको छ ।
१. गरिबी, बेरोजगारी, अभावको दुष्चक्रलाई तोड्न उत्पादनशील क्षेत्रमा व्यापक लगानी र रोजगारी विस्तार गर्ने रणनीति र कार्यक्रमलाई विश्वव्यापी रुपमा अगाडि बढाउनु पर्दछ। यसका लागि हरेक देशका सरकारहरु र रोजगारदाताले विशेष योजना बनाउन आवश्यक छ ।
२. श्रमिकको सामाजिक सुरक्षा कार्यक्रमलाई सघन रुपमा लागू गरिनुपर्दछ ।
३. अनौपचारिक अर्थतन्त्रलाई ओैपचारिक अर्थतन्त्रमा रुपान्तरण गर्ने ठोस योजना अगाडि सार्नु पर्दछ ।
४. संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्न यस अन्तर्गतका कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्ने कार्यक्रम अगाडि सार्नु पर्दछ ।
५. आइएलओका अभिसन्धीहरुको अनुमोदन, यसको प्रभावकारी कार्यान्वयन गर्न अनुगमनको पाटोमा विशेष कार्यक्रमका साथ अभियान सञ्चालन गर्नु पर्दछ ।
६. आइएलओलाई सम्पूर्ण श्रमिकहरुको आस्थाको अन्तर्राष्ट्रिय संगठनको रुपमा विकास गर्न समयानुकूल यसलाई अझ बढी समावेशी, प्रजातान्त्रिक र श्रमिकहरुको समानुपातिक प्रतिनिधित्वको संस्थाको रुपमा विकास गर्न नीतिगत एवम् संरचनागत सुधार गर्न ध्यान दिनु पर्दछ ।