काठमाडाैं । नेकपा एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नामाकरणको सहजीकरणका लागि समिति गठन गरेको छ । दलको आज बसेको बैठकले पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा प्रदेश नामाकरण समिति गठन गरेको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले प्रदेशको नामाकरणको सहजीकरणका लागि कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए । समितिको सदस्यहरूमा पूर्वसामाजिक विकासमन्त्रीद्वय जीवन घिमिरे र उषाकला राई, पूर्वउद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुसियैत र प्रदेश सांसद अर्जुन राई रहेका छन् ।
समितिले प्रदेश १ को नामको विषयमा आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउने र चालू बजेट अधिवेशनभित्रै प्रदेशको नामाकरण गर्न पहल गर्ने जनाइएको छ । प्रदेश १ सरकारले ठूलो दल भएको नाताले प्रदेशको नामाकरणका लागि आवश्यक सहजीकरणका लागि नेतृत्व लिन एमालेलाई आग्रह गरेको थियो । वर्षे अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले एमाललेलाई प्रदेशकाे नामाकरणको सहजीकरणका लागि आग्रह गरेका थिए ।
प्रदेश सरकारको तर्फबाट यसअघि नै नामाकरणको प्रयासका लागि स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति गठन गरेको थियो । नाम टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ बहुमत आवश्यक पर्ने भएका कारण सत्ता पक्षले आफूहरूसँग रहेको सामान्य बहुमत अपर्याप्त हुने भएपछि एमालेको भूमिका खोजी भएको थियो ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरणका विषयमा एमालेलाई नेतृत्व लिन आग्रह गरेसँगै नामका विषयमा छलफल गर्न एमालेले समिति बनाएको छ। केही दिनअघि मुख्यमन्त्री राईले प्रदेश १ को सबैभन्दा ठूलो दल एमाले भएकाले नामकरणको नेतृत्व गर्न एमालेलाई आग्रह गरेका थिए।
सरकारबाट हटेपछि नामकरणको विषयमा मौन रहेको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले नामकरण बारेमा छलफल गर्न तात्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कींं संयोजक रहेको ५ सदस्यीय समिति बनाएको हो। समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दलहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने जनाइएको छ। प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनुपर्ने चौतर्फी माग उठेपछि नेकपा एमालेले समिति बनाएको हो ।