काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको आरोप लगाएका छन्र । प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।
सांसद रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताए । उनले भने, ‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो । यस्तै, सोही समयमा महाकाली सन्धी पनि भयो । दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको र ५ औं पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिक लगायतका सम्झौता हुँदैछन् ।'
रावलले अहिले उठिरहेका प्रश्नको निरुपण गर्न नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न माग गरे । उनले भने, ‘यो गतिविधिले नेपालको स्वाधिनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ । उहाँ ५ चोटी प्रधानमन्त्री बन्दा त यस्तो छ देशको हालत । ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला रु’ उनले थप भने, ‘उहाँ सात पटक प्रधानमन्त्री बन्दा नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’
नेपालको संविधानको धारा ५१ को ‘ड’ द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको रावलको आरोप छ । यस्तै, नेपाली जनताको रक्षा, अखण्डता, असंलग्नता र स्वतन्त्रता लगायतका विषयमा प्रधानमन्त्री कार्यालयको रुची नदेखिएको समेत उनले बताए । यी विविध कारणले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेट विनियोजनको आवश्यकता नदेखिएको रावलको भनाइ छ । त्यसैले आगामी वर्षका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का लागि छुट्टयाइएको बजेट कटौती गर्न रावलले आग्रह गरे ।
रावलले नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन अनुमोदन गर्दा बखत भएको १२ बुँदे व्याख्यात्मक सम्झौता संसदमा पेस नगर्नुको कारण सोधेका छन् । उनले भने, ‘व्याख्यात्मक घोषणामा एमसीसीको सहमतियुक्त पत्र प्राप्त बिना सम्झौता कार्यान्वयन अघि किन बढाएको ? प्रधानमन्त्रीको अमेरिका भ्रमणमा हुने कार्यसूची के-के हुन् ? यसबारे संसदलाई जानकारी किन नगरिएको हो ?’
प्रधानसेनापतिको अमेरिका भ्रमण र अमेरिकी जर्नेलको नेपाल भ्रमणको औचित्यमाथि समेत रावलले प्रश्न गरे । यी विषयको जवाफ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रावलले बताए । यस्तै, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खनालले नेपालका प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा विदेश मन्त्रालय नपुगि रक्षा मन्त्रालय (पेन्टागन) पुगेर छलफल गरेको विषय समेत प्रष्ट पारिनुपर्ने रावलको भनाइ छ ।
रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै नेपालको संविधानविपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन खोजेको बताए । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए ।
प्रधानमन्त्री देउवाले चिनियाँ आयोजनाले बनाएको बिजुली नकिन्ने भन्नु, चिनियाँबाट खोसेर पश्चिमसेती आयोजना भारतलाई दिनु,अमेरिकासँग सामरिक सम्बन्ध स्थापना गर्न खोज्नु, तिब्बत मामिलासम्बन्धी अमेरिकी विदेश उपपमन्त्रीलाई शरणार्थी क्याम्पमा लैजानु जस्ता घटनाक्रमले नेपालको असंलग्न परराष्ट्र नीतिमाथि गम्भीर प्रहार भएको रावलले बताए । देउवाको अमेरिका भ्रमणको तयारीबारे सत्तापक्षबाटै प्रश्न उठिसकेको भन्दै रावलले प्रधानमन्त्रीले पछिल्ला एकपक्षीय र नेपालको संविधानविपरीतका परराष्ट्र नीतिबारे जवाफ दिनुपर्ने बताए ।