काठमाडाैं । टीकापुर घटनामा अदालतबाट सजाय पाएर डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले आफू दोषी नभएको प्रष्टीकरण दिएका छन् । उनले घटनाको वास्तविकता राज्यलाई नै थाहा भएको समेत दाबी गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले पार्टी संचालन र कार्य विभाजन प्रस्ताव समेत तयार परेका छन् । काठमाडौंको डिल्लीबजार कारागारमा जन्म कैदको सजाय भोगिरहेका चौधरीले पार्टी संचालनका लागि पार्टी लेबी, क्रियाशील सदस्यता र कार्य विभाजनका सम्बन्धमा आगामी केन्द्रीय कमिटी बैठकबाट निर्णय लिने बताइएकाे छ । चौधरीले घर, गाडी सञ्चालन गरेको रिपोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा नष्ट भएको भन्दै टीकापुर घटनामा आफ्नो भौतिक सम्पत्ति समेत नष्ट भएको बताएका छन् ।
चौधरीपत्नी रन्जिता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन् ‘दोषीलाई राज्यले नै जोगाएर राखेको छ । बरु तिनलाई पुरस्कार दिइएको छ । राजनीतिक लाभ दिइएको छ । कहिलेकाहीँ त निकै हाँसो पनि उठछ राज्यले उल्टो तिनैलाई वार्ता टोलीको संयोजक बनाएर पठाउँदा ।’
रन्जिता नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष पनि हुन् । रेशम चौधरीकाे धारणा आफूले सामाजिक सञ्जालमा लेखेको उनको भनाइ छ । २०७२ साल भदौ ७ मा विरोध प्रदर्शन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । घटनामा एक बालकको पनि मृत्यु भएको थियो ।
सो घटनामा सांसद रेशम चौधरीलाई जिल्ला अदालत र उच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । उनी अहिले निलम्बित छन् । तर, रेशम चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले भने, ‘पछिल्लो पटक सबैले हामीलाई निर्दोष भन्न थालेका छन् । पूर्व-वर्तमान सबै प्रधानमन्त्रीले यथार्थ स्वीकार गरिसके । तैपनि अझै हामी जेलमा छौँ । निर्दोषलाई जेलमा राखेर सुशासनको कुरा किन गर्ने ? पूर्व र वर्तमान प्रधानमन्त्रीज्यूहरू वारदात स्थलमा नभएकालाई थुनेर न्यायको हथौडा अदालतमा छ भनेर पन्छिन पाइन्छ ?’
उनले अन्तिममा लेखेका छन्, ‘अन्ततः विकल्प नदेखेपछि बाटो पहिल्याउने निर्णय गरेँ । कसैसँग केही गुनासो छैन । राजनीतिक यात्रामा फेरि कुनै न कुनै दिन जरुर सहयात्री भइएला । त्यसैले आङको छारो उडाएर आफ्नै मयल देखाइ फोहोरी कहलिनु छैन मलाई । अबको वैकल्पिक यात्रामा सहानुभूति जरुर होस् ।’
चौधरीका प्रस्ताव अनुसार पार्टीको आगामी केन्द्रीय कमिटी बैठकले विद्यार्थी, श्रमिक, वुद्धिजिवी, कलाकार र भारतीय श्रमिक समाज संगठन हुने भएको छ । नागरिक विद्यार्थी समाजको संयोजकमा सत्य चौधरीको नाम प्रस्तावित छ भने नागरिक श्रमिक समाजको संयोजकमा रमण चौधरीको नाम अगाडि सारिएको छ । यस्तै नागरिक बुद्धिजीवी समाजको संयोजकमा रामबहादुर चौधरीको नाम प्रस्तावित गरिएको छ ।
नागरिक कलाकार समाजको संयोजक दर्पण कुसुम्या र नागरिक उन्मुक्ति भारतीय श्रमिक समाजकको संयोजक ललित ताम्राकारलाई बनाउने रेशमको तयारी छ । संस्थापक चौधरीले कार्यालय सचिवमा रमेश विकलाई अनिवार्य राख्ने भनेका छन् । कैलाली र बर्दियाका मुख्य क्षेत्रका लागि नेताहरुलाई जिम्मेवारी तोक्न पनि रेशमको प्रस्तावमा उल्लेख छ ।
कैलालीको टीकापुर क्षेत्रमा रामलाल डगौंरा, रमेश विक, लम्कीमा महेन्द्र उपाध्याय, बौनियाँमा पुश्कल चौधरी, घोडाघोडीमा प्रेम चौधरी, भजनीमा गंगाराम डगौंरा, जोशीपुरमा कैलाश चौधरी र धनगढीमा निम प्रसाद चौधरीले हेर्न गरी प्रस्ताव तय भएको छ । यस्तै बर्दियाको राजापुर क्षेत्रमा राम बहादुर बरवरिया र गुलरियामा सोमाई चौधरीलाई जिम्मेवारी तोक्न रेशमको प्रस्ताव छ ।
यस्तै टिकापुर घटनाका राजबन्दी परिवार, पार्टीका सदस्य र शिक्षित तथा महत्वपूर्ण व्यक्तिलाई पहिलो प्राथमिकता दिनुपर्ने रेशमको प्रस्तावमा उल्लेख छ । नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकामा टिकापुर घटनाका राजबन्दी परिवारलाई केही न केही राहतको व्यवस्था गर्ने भनिएको छ ।