काठमाडाैं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र सञ्रचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुननिर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
उहाँले कास्की क्षेत्र नं. २ का विभिन्न स्थानहरु भूक्षय र पहिरोको जोखिममा रहेकाले ति क्षेत्रको संरक्षण गर्ने योजना ल्याउन सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले बालश्रम उन्मुलन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले उद्योगहरुलाई बालबालिकालाई श्रममा नलगाई अन्तर्राष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय कानून कार्यान्वयमा सहयोग पुर्याउन अनुरोध गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले विद्यार्थीहरुलाई तत्काल पाठ्यपुस्तक दिलाउन शिक्षामन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले किसानहरुलाई मल र बिउ सहज रुपमा दिलाउन पनि सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य बिनादेवी बुढाथोकीले रासायनिक मलको अभावले किसानहरु चिन्तित हुनुपरेको बताउनुभयो । उहाँले तराईका किसानले भारतबाट मल किनेर ल्याउँदा सिमाना दुख पाएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य लालप्रसाद सावा लिम्बुले नागरिकता विधेयकलाई तत्काल संसदबाट पारित गरी जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता पाउने व्यवस्था गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य शक्ति बहादुर बस्नेतले सडक दुर्घटनाहरुलाई न्युनीकरण गर्न सडकको मापदण्डलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सबै सडकहरुको स्तरोन्नतिलाई प्राथमिकता राख्न सरकारलाई आग्रह गर्नुभयो।
प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सरकारले सिन्धुपाल्चोक जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेर ६ अर्बभन्दा बढी रकम विश्व बैंकबाट प्राप्त गरेको भएपनि सिन्धुपाल्चोकमा खर्च नगरेको बताउनुभयो । उहाँले सो रकम सिन्धुपाल्चोकमै खर्च गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य डा. सुर्यप्रसाद पाठकले दलितहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको थरमा एकरुपता ल्याइदिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले कामी, दमाई, सार्कीले आफ्नो थर राखि नागरिकता लिन पाउने व्यवस्था अविलम्ब गरिदिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।