हुमाकान्त पोखरेल
गुल्मी। आइतबार दिउँसो १२ बजे । गुल्मी जिल्ला सदरमुकाम तम्घासस्थित चिदिचौरमा एक्कासी आगो बल्न थाल्यो । जिल्ला प्रहरी, प्रशासन, जिल्ला अदालत लगायतका जिल्लाका ठुला अड्डाको बीचमा पर्ने चिदिचौरमा आगो लागेपछि स्थानीय केहीबेरमै जम्मा भए ।
तत्कालै नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगायत रेडक्रसको समुह घटनास्थल आइपुग्यो । र उत्तिबेलै दमकल आएर आगो निभाउने काम सुरु भयो । आगो निभाउँदै गर्दापनि एकजना घाइतेलाई एम्बुलेन्समा राखेर लगियो ।
यो आगलागिको दृष्य कुनै ठुलो घटना नभई विपत प्रतिकार्य योजनाको लागि गरिएको पूर्व अभ्यास अर्थात डेमोस्टेशन थियो । कुनै कारणबस जंगल वा बस्तीमा आगो लागिहाले कसरी निभाउने भनेर नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीले त्यसको पूर्व अभ्यास अर्थात डेमोस्टेशन गरेका हुन्।
डेमोमा समाजमा हुने बाँस, बोरा तथा प्लास्टिक, खरका छाएका घरहरु, टौवा, जंगलबाट घरसम्म आगो लाग्ने प्रक्रिया लगायतको बारेमा जानकारी दिइएको थियो। डेमोमा गुल्मी भाडगाउँ र आसपासको सामुदायिक वनलाई आधार मानिएको थियो।
सुख्खा समयमा बन जंगलमा र अन्य समयमा गाउँ–बस्तीमा लाग्ने आगो नियन्त्रण गर्ने र यसबाट हुने क्षति न्यूनिकरणको लागि अपनाउनुपर्ने उपायको बारेमा सुरक्षाकर्मीले जानकारी दिएका थिए।
निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले विपत् व्यवस्थापन गरी जोखिम न्यूनिकरण गर्नु, विपत न्यूनिकरणमा विभिन्न निकायहरुको भूमिका स्पष्ट पार्नु र विपत् न्यूनिकरणको लागि पूर्व तयारी गर्नको लागि डेमो प्रदर्शन गरिएको जानकारी दिए।