हस्त चौलागाँई
कालिकोट । रास्कोट नगरपालिकामा रहेका बालबालिकाहरु नियमित विद्यालय जान थालेका छन् । रास्कोट नगरपालिका ९ का वडा अध्यक्ष एवं नगर प्रवक्ता धनबहादुर धामीले सिओसी कक्षा सञ्चालनपछि बालबलिकामा ठुलो क्षमता विकास भएको बताएका छन् ।
बालबालिका भविष्यका कर्णाधार भएकाले सिओसीलाई भरपुर सयोग गर्ने र स्थानीय सरकारले बालबालिकाहरुलाई सहयोग गरेपछि झन् विकास हुने धामीकाे भनाइ छ ।
सिओसी कक्षा सञ्चालनपछि रास्कोट नगरपालिकामा विभिन्न हिंसा न्यूनीकरणसहित विद्यालय बाहिर रहेका बालबालिकाहरु विद्यालय जान प्रेरित भएको नगर प्रवक्ता धामीले बताए । प्रवक्ता धामीले भने, 'पहिलाका जनप्रतिनिधिले सहयोग गरे वा गरेनन् तर अहिलेका जनप्रतिनिधिहरुबाट बालबालिका, किशोरकिशोरी, स्वाथ्य शिक्षा, खानेपानी जस्ता विषयमा बढी प्राथमिकता दिनेछ।
रास्कोट नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित बालविवाह, छिटो विवाह तथा जवरजस्ती विवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । आर्थिक अभावका कारण विद्यालय जान नसकेका बालवालिकाहरु सिओसी कक्षा सञ्चालन पछि विद्यालय जान थालेका छन् । सिओसी कक्षामा विभिन्न ज्ञान तथा सिप हासिल पश्चात बालबालिकाहरु विद्यालय गइरहेका हुन् ।
प्लान इन्टरनेशनल नेपालले विभिन्न कार्यक्रम सञ्चालन गरिसकेपछि बालबालिकाहरुले आफ्नो हक अधिकारको बारेमा ज्ञान लिई समाज रुपान्तरणमा लागेको रास्कोट नगरपालिका २ की सिओसी सदस्य आकृती खड्काले बताईन् । आकृती खड्का मात्र हाेनन् रास्कोट नगरपालिका भरिका करिव ४ सय जना बालवालिकाहरु सिओसी कक्षामा आवद्ध छन् । उनीहरुले एक न एक माध्यमबाट विभिन्न हिंसा न्यूनीरण गर्दै आफ्नो उमेर समूहका साथीहरुलाई विद्यालय क्षेत्रतिर लग्ने काम गदै आएका छन् ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र हुरन्डेक नेपाल कालिकोटको सहजिकरणमा सिओसी कक्षाका सदस्य तथा विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री एवं अन्य सिपमुलक तालिमहरु दिइरहेको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए । उनले भने सिओसी सञ्चालन नहुनु पूर्व बालबालिकाहरुले सिपमुलक तालिम, ज्ञान लिएका थिएनन् । अहिले विभिन्न तालिम लिइसकेपछि उनीहरुको क्षमता विकाससँगै समाजमा रहेका कुरिति कुसंस्कारलाई न्यूनीकरण गर्न समूह नै लाग्ने गरेको छ ।
रास्कोट नगरपालिका मात्र हाेइन कालिकोट जिल्लाका ३ वटा स्थानीय तहमा १ हजार बालबालिका सिओसी कलासमा संलग्न छन् । सिओसी कलासमा सहभागि ३ स्थानीय तहका बालबालिकाहरु नियमित विद्यालय जाँदैछन् । हिजोका दिनमा साथीभाइको लहलैमा लागेर सानो उमेरमा श्रम गर्ने, घरपरिवारको दबाबमा परेर पढाईमा भन्दा कामतिर लाग्ने बालबालिकाहरु अहिले सिओसी सञ्चालनपछि विद्यालय जान थालेका हुन् ।
समाजमा रहेका विभिन्न कुरिति, कु संस्कार न्यूनीकरणका लागि आवश्यक तालिम सिओसी कलासका सहजकर्ताले दिएपछि उनीहरुको क्षमता विकास भएको हो । विद्यालय क्षेत्रमा गई अध्ययन गर्ने र अन्य बालबालिकाहरुलाई आफ्नो हक अधिकारकाका बारेमा जानकारी गराउने, समाजमा हुने विभिन्न हिंसा तथा कुरितिहरु न्यूनीकरणमा सबै किशोर किशोरी तथा बालबालिकाहरुको ठूलो भूमिका रहेको भन्दै ३ स्थानीय तहका बालबालिकाहरु नयाँ जनप्रतिनिधिसँग समन्व्य गरेर समाज रुपमान्तर गर्नतिर लाग्ने बताएका छन् ।