काठमाडाैं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा सुरु भएको छ । कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । अहिले अधिवक्ता लीलामणि पौडेलले बहस गरिरहेका छन् ।
यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण सुनुवाइका लागी पेश गर्न आदेश गरेकी थिइन् । जेठ १७ मा एआईजी बढुवा विरुद्ध पूर्वडीआईजी ईश्वरबावु कार्की समेतले दायर गरेको रिट लगाउमा राखेर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नमा पेश तोकिएको थियो । तर, प्रत्यर्थी धीरजप्रताप सिंह, रविन्द्रबहादुर धानुक र वसन्त पन्तको म्याद तामेल नभएको देखिएपछि जेठ १७ मा सुनुवाई भएन ।
न्यायाधीश श्रेष्ठ र चुडाल सम्मिलित इजलासले जेठ ३० मा मुद्दाको अन्तिम सुनुवाई गर्न पेशी तोकेका थिए । सोमबार आईजीपी नियुक्ति बिरुद्ध परेको रिट र पूर्व डिआईजीहरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले एआईजीपी बढुवा विरुद्ध हालेको रिट सँगै सुनुवाई हुने भएको छ । घनश्याम अर्यालसहित ३ जना डीआईजीले अहिलेका आईजीपी धीरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई वरियता मिचेर बढुवा गरेको भन्दै रिट दायर गरेका थिए ।
आईजीपी विवादबारे सर्वोच्च अदालतले धीरजप्रताप सिंहको व्यक्तिगत फाइल, उनलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसकेका छन् । एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।