काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफू राप्रपा प्रवेश गर्न लागेको चर्चा झूटो भएको बताएका छन् । यद्यपि, सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि एकीकरण वा ध्रुवीकरणमा आफ्नो चासो रहेको उनको भनाइ छ ।
देशलाई शिरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव रहेको मिश्रले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छने, ‘देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पूरै खाली छ ।’
सञ्चारमाध्यममा आफू राप्रपामा प्रवेश गर्न लागेको समाचार प्रकाशित भएको भन्दै मिश्रले उक्त समाचार झुट भएको उल्लेख गरे । उनले भने, 'आज (बुधबार) केही सञ्चारमाध्यममा मबारे प्रकाशित समाचार झुट हुन् । देशलाई शीरमा राख्ने र नेपाली समाजको भावनालाई नेतृत्व गर्ने ‘मडरेट कन्जर्भेटिभ’ पार्टीको यो देशमा सख्त अभाव छ। देशको एउटा प्रमुख पार्टीको ‘विकृत वामपन्थीकरण’ भएपछि नेपाली राजनीतिमा त्यो ‘स्पेस’ पुरै खाली छ ।'
जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ-राजनीतिकरूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिकरूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुने भएपनि नेपालमा अहिले त्यस्तो पार्टी नभएको मिश्रको भनाइ छ। उनले भने, 'समाज र राजनीतिलाई सन्तुलनमा राख्न र यो देशलाई बढ्दो भूराजनीतिक भूमरीबाट जोगाउन ‘राष्ट्रियता’को जगमा एउटा रूपान्तरणकारी शक्ति निर्माणका लागि म पहिलेदेखि नै एकीकरण/ध्रुवीकरणको पक्षमा भएको मैले लुकाएको छैन ।'
आफू एक्लै कतै जोडिएर ‘मडरेट कन्जर्भेटिभ’ पार्टी बनाउन सम्भव नभए पनि सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि एकीकरणमा भने आफ्नो चासो कायमै रहने मिश्रको भनाइ छ । उनले भने, ‘म एक्लै कतै जोडिएर त्यो सम्भव छैन तर सशक्त शक्ति निर्माण हुने किसिमको कुनै पनि सम्मिलन/एकीकरण/ध्रुवीकरणमा भने मेरो चासो कायमै रहने छ ।’