काठमाडाैं । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताउनुभएको छ।
बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत् अमेरिकी सेनाको रणनीतिक उद्देश्य हो भने अघि बढाउन नहुने धारणा राख्नुभएको हो।
उहाँले अमेरिकी सेनाहरु नेपाल आउने र उनीहरुकै नियम, कानूनको अधिनमा चल्ने भए सो सम्झौता अगाडि बढाउन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले अमेरिकी सेनालाई यहाँ ल्याएर उनीहरुको केही रणनीतिक उद्देश्य हो भने त्यसले राम्रो गर्दैन। होइन सेनाहरुको तालिमका लागि एक आपसी सद्भावका साथ आउने, जाने फरक कुरो हो। हिजोको दिनमा एमसीसीको विषयमा जुन किसिमले चर्चा चल्यो । बहश चल्यो । र त्यो बहशमा अमेरिकी सेनाहरु पनि यहाँ आउछन् र उनका नियम, कानून विभिन्न कुराहरु जुन उठेका थिए । यदी त्यो हो र त्यस अन्तर्गत आउँछ भने यो राम्रो होइन । त्यसमा मेरो सहमति छैन ।’
नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले नेपाल कुनैपनि सैनिक गठबन्धनमा जाने कुरा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले नेपालको स्वाधिनता, स्वतन्त्रता र अखण्डतामाथि आँच आउने काममा आफ्नो पार्टीको समर्थन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो स्पष्ट धारणा के हो भन्दाखेरी नेपालको स्वाधीनता, स्वतन्त्रता र अखण्डतामाथि कुनैपनि हिसाबले आँच आउने कामहरु प्रति हाम्रो समर्थन रहदैन । समर्थन हुन सक्दैन । र त्यसलाई स्वीकारिदैन । स्पष्ट कुरा हो । यो खालको कुनैपनि सैनिक गठबन्धनमा जानेकुरा हामीलाई स्वीकार्य हुँदैन । नेपालको स्वाधिनता र सार्वभौमसत्तामाथि आँच आउने कुराहरु कुनैपनि स्वीकार्य रहदैन । हाम्रो स्वतन्त्रता, स्वाधिनता र हाम्रो अखण्डतामाथि आँच आउने कुराहरुमा हाम्रो साथ, समर्थन र स्वीकार्य हुँदैन ।’
जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले एसपीपी सम्झौताको सम्बन्धमा प्रमुख राजनीतिक शक्तिहरुका बीचमा राष्ट्रिय सहमति कायम हुनुपर्ने बताउनुभयो । उहाँले बस्तुनिष्ठ भएर यसको बुँदाहरुलाई केलाएर हेर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको जुन प्रकारको भुअवस्थिति छ, हामी संवेदनशील अवस्थामा छौँ । यतिबेला यस्ता सहमतिहरु गर्दा कम्तिमा प्रमुख राजनीतिक शक्तिहरुका बीचमा सर्वदलीय भनौँ राष्ट्रिय सहमति कायम गर्दा राम्रो हुन्छ । होइन भने यसले राम्रो प्रभाव पार्दैन । बस्तुनिष्ठ भएर यसका बुँदाहरुमा केस्रा, केस्रा केलाएर नेपालको हितलाई ध्यानमा राखेर, नेपाली जनताको स्वार्थलाई ध्यानमा राखेर, नेपालको भौगोलिक अखण्डता, सामरिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्छ । राष्ट्रिय सहमति कायम गरेर मात्रै गर्दा राम्रो हुन्छ ।’
उहाँले नेपालको स्वार्थलाई ध्यानमा राखेर र नेपालको सामरिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर यस्ता विषयहरुको सम्बन्धमा निर्णय हुनुपर्ने बताउनुभयो ।