काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।
प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरे । उनले भने, ‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ ।’
प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ। ‘यहीँबाट घोषणा गर्न चाहन्छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै हालमा त्यसमा जान्न भन्नुभएको छ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा उक्त सम्झौता गरेको तथ्य रहेको दाबी गरे । प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’
प्रचण्डले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधानको रक्षा आफूहरुले गरेको दाबी गरे । ‘गठबन्धन गरेपछि प्रतिगमनको प्रवृत्ति परास्त भयो,’ उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, मैले प्रतिनिधिसभामा बोल्दा भनेको छु, यो निर्वाचनमा हाम्रो लागि र माओवादी केन्द्रको अध्यक्षको हैसियतले कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन् ।’
उनले संविधान अन्तर्गत निर्वाचन सफलताका साथ सम्पन्न भएको दाबी गरे। ‘ठूलो कुरा निर्वाचन यही संविधान अन्तर्गत सफलताका साथ सम्पन्न भयो,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘यो संविधानलाई च्यातेर भाँचकुच पार्ने प्रयास भएको छ।’
गठबन्धनलाई अझ बलियो पार्ने र विकास र समृद्धिको नयाँ यात्राका लागि बढाउन जरुरी भएको बताए ।