काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन् । राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले एमालेबाहेक अरु दलसँग देश विकासको भिजन नै नभएको दाबी समेत गरे ।
उनले साधारणा सदस्यबाट निकाल्न खाेजेकाे पनि स्मरण गरे । उनले भने, 'एमालेलाई कब्जा गरेर सिद्धाउन खोजेका थिए । मलाई समेत साधारण सदस्यबाटै निकाल्न खोजेका थिए । नेतृत्व नै विस्थापित गर्ने काममा लागेका थिए । हामीले ती प्रयासमा जीवन मरणको लइाइँ लडेका थियौँ । एमालेले लडेको जीवन मरणको लडाइँ जितेर यहाँ आयौँ।'
उनले स्थानीय तह निर्वाचनमा एमालेले जीवन मरणको लडाइँ लडेको जिकिर गर्दै विपक्षीले अस्तित्व मेटाउन खोज्दा पनि प्रमुख दलबाट हटाउन नसकेको जिकिर गरे । उनले नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउने षडयन्त्र भएको पनि बताए। उनले भने, ‘नेपालमा कम्युनिस्ट आन्दोलन सिध्याउन, विकास रोक्न ठूलो षडयन्त्र भयो । गएका डेढ दुई वर्ष हामी अग्रगमन विरोधी, स्थिरता र स्थायित्व विरोधीसँग जुध्यौँ ।’
उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए ।ओलीले एमालेका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल नमुना हुने विश्वास व्यक्त समेत गरे । ओलीले एमाले जनप्रतिनिधि विकासको अभियन्ताको रूपमा स्थापित हुनु पर्ने बताए । ‘तपाईँहरू जनताको सेवामा सदा तत्पर रहनुस्, त्यस स्थितिमा रहन सक्नुस्’, ओलीले भने ।
उनले जनप्रतिनिधिलाई आफ्नो कार्यकालमा देखिने गरी काम गर्न आग्रह गरे । ‘देखाइ रहनु नपरोस्, मान्छेले जता फर्के पनि विकास देखुन्’, उनले भने ।
उनले एमालेका जनप्रतिनिधि महासंग्रामबाट आएको बताएका छन् ।