काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागि नहुने स्पष्ट पार्नुभएकाे छ ।
अमेरिकासँग भएको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (शुक्रवार) काे बैठकमा जवाफ दिने क्रममा प्रधानसेनापति शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको पनि जानकारी दिनुभयाे ।
उहाँले २०७२ साल कात्तिक १० गते पत्र पठाएको जानकारी दिँदै त्यो पत्र मिलिटरी तालिमसँग सम्बन्धित नरहेको स्पष्ट पार्नुभयाे। अहिले नेपाली सेनाले लेखेको जुन पत्र सार्वजनिक भएको छ, यो सत्य भएको बताउनुभयाे।
‘चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलायन्स लेखिएको छैन’ उहाँले भन्नुभयाे। उहाँले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको पनि बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘कात्तिक १० गते २०७२ सालमा पत्र लेखिएको हो । यो मिलिटरी तालिमसँग सम्बन्धित छैन, त्यो भूकम्पको समय थियो, हामीले विपदमा काम गर्नु थियो त्यसकै लागि गरिएको हो, नेपालको परराष्ट्र नीतिको बर्खिलाप र सैन्य गठबन्धनमा जान रक्षा र परराष्ट्रमन्त्रीको स्वीकृतिमा पत्र लेखिएको थियो ।’
यस्तै, उहाँले सैन्य पार्टनरसिप गर्न नपरोस् भनेर विभिन्न काम अघि बढाइएको पनि बताउनुभयाे । यो पार्टनरसिप अन्तर्गत चार वटा जहाज लिएको र दुई वटा आइसकेको अरू प्रक्रियामा रहेको पनि उहाँले जानकारी गराउनुभयाे।
एउटा एअर एम्बुलेन्स आउने तर यो कार्यक्रमबाट कुनै हतियार र पैसा नलिएको उहाँकाे भनाइ छ । अमेरिकाले प्रस्ताव गरेको भनिएको १० बुँदे सम्झौताबारे आफूहरुलाई थाहा नभएको र त्यो प्रस्ताव आएको नआएको जानकारी नभएकाे उहाँले बताउनुभयाे ।