काठमाडाैं । राष्ट्रियसभाका सांसद बामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताउनुभएको छ ।
केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाउनुभयो ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनुभएका सांसद गौतमले कम्युनिष्ट पार्टीहरुलाई एकीकृत गर्नका लागिनै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको स्पष्ट पार्नुभयो ।
नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टी भित्रको आन्तरिक समस्याका कारण ३ वटा टुक्रामा विभाजित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । र मेरो विचार कम्युनिष्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । त्यसो भएर मैले कुनै नेताको बारेमा टिकाटिप्पणी पनि गरेको छैन । र, आफ्नो जीवनमा म सधैँभरी क्रिटिकल व्यक्ति हुँ । मैले पुष्पलालको पनि आलोचना गरेँ । मैले मदन भण्डारीको पनि आलोचना गरेँ, जीवराज आश्रितको पनि आलोचना गरेँ । म जोजोसँग सम्बन्धित भएको छु–उहाँहरुसँग सैद्धान्तिक, राजनीतिक बहस हुँदाहुँदै आएको हो । र, म त्यसैमा दीक्षित भए ।'
कम्युनिष्ट एकताकाे एउटा ऐतिहासिक अवसर प्राप्त गरेकाे बताउँदै उहाँले भन्नुभयाे, 'नेपाललाई साँच्चीकै एउटा समृद्ध समाजवादमा पुर्याउने, त्यसको निम्ति औजारको आवश्यक्ता पर्छ र त्यो औंजार राजनीतिक रुपले नेकपा कम्युनिष्ट पार्टी (नेकपा)मात्रै हुन सक्थ्यो । र, अब त्यो हुन्छ भनेर हामीलाई ज्याँदै खुशी लागेको थियो । जनतालाई पनि त्यसले खुसी बनाएको थियो । तर दूर्भाग्यबस पार्टी भित्र उत्पन्न समस्याहरुले हाम्रो पार्टी विभाजित हुन पुग्याे ।'
आज त्यो पार्टी विभाजित भएर तीन वटा टुक्रामा पुगेककाले फेरि एकीकृत गर्ने अभियानमा लागेकाे बताउँदै गाैतमले भन्नुभयाे, 'म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’