काठमाडाैं। राष्ट्रियसभाका सांसद एवम् पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गर्नुभएको छ ।
सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो।
गौतम कोइराला नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो। यसको सुरुवात जसले गरेपनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउन काममा संलग्न हुनुभएको उल्लेख गर्दै उहाँले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गर्नुभयो ।
उहाँले अध्यक्ष ओलीप्रति संकेत गर्दै सो सत्यकुरा बताउँदा कुनै पनि पार्टी र त्यसका नेताको व्यक्तित्व सानो नहुने बताउनुभयो । सांसद गौतमले सरकार र सरकारको नेतृत्वको गरेको काँग्रेसले अघि नबढाउने भनेपछि एसपीपी सम्बन्धि समस्या समाधान भएको पनि पटकपटक दोहोर्याउनुभयो ।
उहाँले सो प्रस्तावबारे संसदमा आएर जवाफ दिन भने प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । सांसद गौतमले भन्नुभयो, ‘अहिले एमालेका अध्यक्ष कमरेड केपी ओलीले सुरु गर्नुभयो यो सम्झौता भनेपछि सुशील कोइरालाले हो भनेको हुनाले म पनि त्यसमा संलग्न हुन्छु । म फेरि प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिन । त्यो सरकारमा सामेल भईसकेपछि प्रधानमन्त्रीले गरेको काम प्रधानमन्त्रीले व्यक्त गरेको विचारसित सहमत हुनुपर्दछ। त्यसो भएर ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब केके भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ । र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ ।'
सांसद गौतमले प्रधानमन्त्री देउवाले एसपीपीबारे संसदमा उठेका प्रश्नको जवाफ आफैले नदिएर संसदीय मर्यादामाथि आघात पुर्याएको दाबी समेत गर्नुभयो ।