काठमाडाैं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले आफूले जितेका पालिकामा तल्लो वर्गलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट बनाउन निर्देशन दिएको छ । पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुन अनन्तले महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष/उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन्।
संविधानले नेपाललाई समाजवादउन्मुख भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन उनले निर्देशन दिए । ‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवास लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो । यसमा हामी स्पष्ट हुनुपर्छ।’
पार्टी जनयुद्धबाट आएकाले त्यससँग सम्बन्धित कार्यक्रम जनयुद्ध दिवस, घाइतेरअपाङ्गको निःशुल्क उपचार, शहीद परिवारलाई राहत र रोजगारी दिनु आफूहरुको दायित्व भएकाले बजेटमा नछुटाउन पनि पुनले निर्देशन दिए । यस्तै समग्र लोकतान्त्रिक आन्दोलनका योद्धालाई केन्द्रित गरेर कार्यक्रम ल्याउन पनि भने।
कार्यक्रममा माओवादीले जितेका १ सय २२ पालिकाका प्रमुख तथा उपप्रमुखका साथै प्रदेश समितिका इन्चार्जरअध्यक्ष, सातै प्रदेश सरकारका आर्थिक मामिलामन्त्री तथा पार्टी प्रदेश आर्थिक विभाग प्रमुख सहभागी थिए । अनन्तले पार्टीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन् ।
पुनले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए । जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरुलाई बल पुग्ने गरी भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत दिए ।
‘कम्तिमा माओवादीले जितेका पालिकामा भ्रष्टाचार नगरौं’, उनले भने, ‘हामीले चलाएका पालिकाहरुलाई कुनै न कुनै काममार्फत नमुना बनाऔं ।’ तर, सस्तो लोकप्रियताका लागि राज्य श्रोतको परिचालन नगर्न जनप्रतिनिधिलाई उनले सुझाए । स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनले बताए ।
फरक प्रसंगमा पुनले कोरोना महामारी र रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएको र नेपाली अर्थतन्त्र पनि त्यसको मारमा परेको बताए । पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले चुलिँदो वैदेशिक व्यापार घाटा, बैंकिङ क्षेत्रले कोरोनाकालमा सहुलियतमा जारी गरेको कर्जा र पुनकर्जा कार्यक्रमको रकम व्यवसायीले खराब लगानीमा खर्चिएका कारण पनि अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गरे ।
विप्रेषण आप्रवाहमा कमी, आयातमा वृद्धि, हुण्डीसहित अवैध माध्यमबाट कारोबार, बढ्दो सोधनान्तर घाटा, उच्च मूल्य वृद्धि, घट्दो वैदेशिक मुद्रा सञ्चितीले समग्र अर्थतन्त्र र जनजीवनमा गम्भीर प्रभाव पारेको बताए । पुनले पछिल्लो समय शेयर बजार मापक नेप्से परिसूचक लगातार आरोलो लाग्नु पनि सुखद नभएको बताए । एक वर्षअघि ३२ सय बिन्दुमा रहेको नेप्से १ हजार ९ सय बिन्दुमा झरेको भन्दै उनले लगानीकर्ता निराश भएको बताए ।
आगामी दिनमा व्यापार घाटा र बैंक तथा वित्तिय संस्थाको खराब कर्जा थप बढ्नुका साथै खाद्य संकट उत्पन्न हुनेतर्फ सरकार समयमै गम्भीर हुनुपर्नेमा उनले जोड दिए । रुस-युक्रेन युद्धपछि ६० भन्दा बढी मुलुकले खाद्यान्न निर्यातमा रोक लगाएको चर्चा गर्दै उनले अफ्रिका महादेश खाद्य संकटको चपेटामा परिसकेको बताए ।