काठमाडाैं । पेशागत महासंघ नेपालको सर्लाही जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। भेलाको उद्वघाटन नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य लक्ष्मण पौडेलले गर्नु भएको थियोे।
प्रशिक्षण कार्यक्रममा पेशागत महासंघ राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेसागत महासंघ नेपाल पेशाकर्मीहरुको हक हितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताउनुभयो।
खनालले यतिबेला पेशागत आन्दोलनमा दक्षिणपन्थी अवसरवादको प्रभाव परेको र यस्ताे प्रवृत्तिबाट पेशागत आन्दोलनलाई जोगाउनु पर्ने बताउनुभयाे
आन्दोलन भित्र तीन 'अ' अवसरवाद, अराजकतावाद र अर्थवादको प्रवृत्ति र चुनौतीले पेशागत क्षेत्रमा प्रभाव पारिरहेकाले यसका विरुद्ध वैचारिक संघर्ष गर्दै ट्रेड युनियनलाई एकतावद्व बनाउन लाग्नु पर्ने खनालकाे भनाइ थियाे।
भेलामा पेशागत महासंघ नेपाल मधेश प्रदेशका इन्चार्ज योगेन्द्र यादव, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका महासचिव हरिदेव यादव, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष राजकुमार दास, एकीकृत स्वास्थ्यकर्मी संगठन मधेश प्रदेश इन्चार्ज सुरेन्द्र ठाकुर, राष्ट्रिय सहकारी कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष भरतकुमार श्रेष्ठ, सर्लाही पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्नु भएको थियो।
अध्यक्ष ऋषिराम दंगालको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गर्नु भएको थियोे ।
भेलाले राजाराम शाहको अध्यक्षतामा ३१ सदस्यीय पेशागत महासंघ नेपाल सर्लाही जिल्ला समिति, राम किशोर रायको अध्यक्षतामा १५ सदस्यीय एकीकृत सरकारी कर्मचारी संगठन र मधुकर भण्डारीको अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सर्लाही गठन भएको छ।