काठमाडाैं । सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणा गरेका हुन् ।
लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् । आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताए ।उनले भने, ‘राजनीतिमा कति हिलो-मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । मलाई हिलो लाग्छ तर तपाईंले म हिलोमै रहन्छु भन्ने नसोच्नुस् । हिलो सफा गरेर मात्र निस्कन्छु ।’
उनले भ्रष्टाचार मुद्दाका फाइल टकटकाएर जानका लागि सहयोग गर्न आग्रह गरे । टेलिभिजनका पर्दाबाट राजनीतिक दलका नेताहरूलाई सप्रिनुस् भन्दा पनि नसप्रिएको बताउँदै आफै राजनीतिमा आएको बताए । उनले आफूले जति मान्छे रोएको कसैले पनि नदेखेको बताए । उनले भने, ‘मैले जति मान्छे रोएको कसैले देखेको छैन होला । मेरो कार्यालयमा हरेक दिन मान्छेहरू मलाई भेट्नुअघि मेरो २ मिनेट रुने गर्थे । मेरो कार्यालयको अर्कोपट्टी बालुवाटारमा राज्यको जिम्मेवार व्यक्तिको कार्यालयमा मान्छेको भीड लाग्दैनथ्यो ।’
उनले अस्पताल जस्तो ठाउँमा पनि सोर्स फोर्स लगाउनुपर्ने कस्तो मक्किएको ठाउँमा संरचनामा छौँ भन्दै प्रश्न गरे । उनले आफू चुनावमा जाने दिन देशको नक्सा देखाएर जाने बताए । उनले प्रश्न सोध्ने सजिलो काम छोडेर जवाफ दिने गाह्रो काम गर्न आएको बताउँदै आफू व्यवस्था बदल्न आएको भन्दा पनि जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए । उनले हेलिकोप्टर चढेर कोही नेता जान्छ भने विद्यार्थीका लागि पुस्तक र बिरामीका लागि हेलिकोप्टरबाट त्यसरी नै औषधी पुर्याउनुपर्ने बताए ।
स्वतन्त्ररूपमा उम्मेदवारी दिन चाहनेहरूलाई पार्टीमा स्वागत गर्ने उनले बताए । आफ्नो पार्टी आजैबाट क्रियाशील हुने उनको भनाइ छ । ‘यो पार्टीमा रहेर आफ्नो क्षमता देखाउन सकिनँ भने जहाँ देख्यो त्यहाँ ढुंगाले हान्नुहोला,’ उनले भने, ‘क्षमता देखाउन नसके पार्टीमा र्याल सिँगान चुहाँउदै टाँस्सिएर बस्ने छैन ।’
देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकाले नयाँ पार्टी गठन गरेको उनले बताए ।